काठमाडौँ । विगत १४ वर्षको अवधिमा नेपाल आउने पर्यटकको संख्या उल्लेख मात्रामा बढ्न सकेको छैन । २०११ मा ७ लाख ३६ हजार जना पर्यटक नेपाल भ्रमणमा आउँदा त्यसको १४ वर्ष पछि २०२४ मा ११ लाख ४७ हजार पर्यटक मात्र नेपाल भित्रिएका छन् ।
सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०१९ मा इतिहासमै सबैभन्दा बढी ११ लाख ९७ हजार १९१ जना पर्यटक आएका थिए ।
नेपालको इतिहासमा अहिलेसम्म हेर्दा एक वर्षमा आउने पर्यटकको संख्या १२ लाख सम्म पनि पुग्न सकेको देखिदैँन । सन् २०११ मा ७ लाख ३६ हजार २१५ जना पर्यटक नेपाल आएका थिए । उक्त समयमा हवाईमार्ग हुँदै ५ लाख ४५ हजार २२१ जना र जमिनबाट १ लाख ९० हजार ९९४ जना पर्यटक नेपाल भित्रिएका थिए ।
उक्त अवधिमा ३० अर्ब ७० करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । सन् २०१२ मा ५ लाख ९८ हजार २५८ जना हवाईमार्गबाट र २ लाख ४ हजार ८३४ जना स्थलमार्गबाट गरि जम्मा ८ लाख ३ हजार ९२ जना पर्यटक नेपाल आएका थिए । उक्त आर्थिक वर्षमा ३४ अर्ब २१ करोड ६ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो ।
सन् २०१३ मा ५ लाख ९४ हजार ८४८ जना हवाईमार्गबाट र २ लाख २ हजार ७६८ जना स्थलमार्गबाट गरि जम्मा ७ लाख ९७ हजार ६१६ जना विदेशी पर्यटक नेपाल आएका थिए । सो आर्थिक वर्षमा ४६ अर्ब ३७ करोड ४९ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो ।
सन् २०१४ मा ५ लाख ८५ हजार ९८१ जना हवाईमार्गबाट र २ लाख ४ हजार १३७ जना स्थलमार्गबाट गरि ७ लाख ९० हजार ११८ जना पर्यटक नेपाल आएका थिए । उक्त आर्थिक वर्षमा ५३ अर्ब ४२ करोड ८६ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो ।
सन् २०१५ मा उक्त संख्यामा ३२ प्रतिशतले गिरावट आएको थियो । उक्त वर्षमा ४ लाख ७ हजार ४१२ जना हवाईमार्गबाट र १ लाख ३१ हजार ५५८ जना स्थलमार्गबाटगरि जम्मा ५ लाख ३८ हजार ९७० जना पर्यटक नेपाल आएका थिए । सो आर्थिक वर्षमा ४१ अर्ब ७६ करोड ५३ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो ।
सन् २०१६ मा पर्यटक आगमनमा आशालाग्दो अवस्था देखिएको थियो । सो वर्ष पर्यटक आगमनमा ४० प्रतिशतले वृद्धि भई ७ लाख ५३ हजार २ जना पुगेको थियो । यस अवधिमा हवाईमार्गबाट ५ लाख ७२ हजार ५६३ जना र स्थलमार्गबाट १ लाख ८० हजार ४३९ जना पर्यटक नेपाल आएका थिए । उक्त आर्थिक वर्षमा रोयल्टी रकम ५८ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ थियो ।
सन् २०१७ मा पनि पर्यटक आउने क्रम आशा लाग्दो अवस्था देखिएको थियो । उक्त आर्थिक वर्ष पर्यटन आवतमा २५ प्रतिशतले वृद्धि भएको देखिन्छ । सो अवधिमा हवाईमार्गबाट ७ लाख ६० हजार ५७७ जना र स्थलमार्गबाट १ लाख ७९ हजार ६४१ जना गरि जम्मा ९ लाख४० हजार २१८ जना पर्यटक आएका थिए । सो आर्थिक वर्षमा ६८ अर्ब ५२ करोड १७ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो ।
सन् २०१८ मा पनि पर्यटक आगमनमा २५ प्रतिशतले वृद्धि भएको थियो । सो वर्ष हवाईमार्गबाट ९ लाख ६९ हजार जना पर्यटक आउँदा स्थलमार्गहुँदै २ लाख ३ हजार ७८५ जना गरि जम्मा ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल आएका थिए । उक्त आर्थिक वर्षमा ७५ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो ।
पर्यटक आउने क्रम बढिरहँदा सन् २०१९ मा पनि पर्यटन आगमन सकारात्मक नै रहेको थियो । सो वर्षमा पर्यटक आगमन २ प्रतिशतले बढ्दा ११ लाख ९७ हजार १९१ जना पर्यटक आएका थिए । सो अवधिमा हवाईमार्गहुँदै आउने पर्यटकको संख्या ९ लाख ९५ हजार ८८४ जना थियो भने स्थलमार्गहुँदै आउने पर्यटकको संख्या २ लाख १ हजार ३०७ जना रहेको थियो । पर्यटक आउने क्रम बढिरहँदा राजस्व संकलनमा पनि वृद्धि भएर ६० अर्ब ८८ करोड ५० लाख रुपैयाँ पुगेको थियो ।
सन् २०२० मा नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने जोडतोडले तयारी गर्दै थियो । नेपाल भ्रमण वर्ष २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । तर २०१९ को अन्त्यतिर आएको विश्वव्यापी महामारी कोरोनाले सबै क्षेत्र ठप्प भएपछि पर्यटक आगमनमा लगभग सुन्यता छाएको थियो । उक्त समयमा पर्यटक आगमनमा ८० प्रतिशतले गिरावट आएको थियो, जसको असर अहिलेसम्म पनि कायम रहेको छ । सो अवधिमा थला परेको पर्यटन अझै पुरानो अवस्थामा फर्कन सकेको छैन । उक्त आर्थिक वर्षमा २ लाख ३० हजार ८५ जना पर्यटक आउँदा ७ अर्ब २६ करोड ६३ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो ।
सन् २०२१ मा पनि पर्यटक आगमनमा ३४ प्रतिशशतले गिरावट आएको थियो । उक्त वर्षमा स्थलमार्गबाट ३३७ जना र हवाईमार्गबाट १ लाख ५० हजार ६२५ जना पर्यटक नेपाल आएका थिए । सो आवमा ३२ अर्ब ४४ करोड ७२ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो ।
सन् २०२२ मा आएर कोरोनाले थलिएको पर्यटन विस्तारै लयमा आएको थियो । उक्त वर्ष पर्यटक आगमनमा ३०७ प्रतिशतले वृद्धि भई ६ लाख १४ हजार ८६९ जना पर्यटक संख्या पुगेको थियो । सो वर्षमा ५ लाख ९२ हजार ६३१ जना हवाईमार्गबाट र २ लाख २२ हजार २३८ जना स्थलमार्गहुँदै नेपाल आएका थिए । यो आवमा पर्यटक आगमन बढ्दा ६१ अर्ब ५२ करोड २७ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो ।
सन् २०२३ मा १० लाख १४ हजार ८८२ जना पर्यटकको आउदा पर्यटन आगमनमा ६५ प्रतिशतले बढेको थियो । सो वर्ष ९ लाख १४ हजार २७० हावईमार्गहुँदै आएका थिए भने १ लाख ६१२ जना स्थलमार्गहुँदै नेपाल आएका थिए । उक्त आर्थिक वर्षमा ३३ अर्ब ९४ करोड ५९ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो ।
सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ जना पर्यटक नेपाल आएका थिए । यस आर्थिक वर्षमा कति रकम रोयल्टी संकलन भयो यकिन नभएको पर्यटन विभागले जनाएको छ ।
प्रतिक्रिया