काठमाडौँ । पछिल्ला दिनमा विकसित घटनाक्रमले सेयर बजारका लगानीकर्ताहरुमा अन्यौलता बढेको छ । त्यसै पनि सामान्य अवस्थामा सुस्त बनिरहेको बजारलाई पछिल्ला राजनितिक घटनाक्रमले प्रभावित बनाएको हो । जसका कारण मंगलबार सेयर बजारमा पहिरो गएको छ ।
सेयर बजारमा सामान्य घटनाले पनि प्रभाव पार्नु स्वभाविक हो । यस्तो अवस्थामा भिजिट भिसा प्रकरण, राजावादीक र यातायात व्यवसायीहरुको आन्दोलन लगायत कारणले सेयर बजारलाई प्रभावित बनाएको हो ।
मंगलबार बजार परिसुचक नेप्से ३५.७३ अंकले घटेर २६५८.९३ अंकमा ओर्लिएको छ । नेप्सेसँगै कारोबार रकम पनि खुम्चिएको छ । मंगलबार कारोबारमा आएका ३१५ वटा कम्पनीका १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर ७५ हजार ५०८ पटक किनबेच हुँदा कारोबार रकम ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार रुपैयाँ पुगेको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदा सम्म पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ता बजेट आएपछि केही उत्साहित भएका थिए । बजेट घोषणा पछि कारोबारको पहिलो दिन आइतबार सेयर बजार १७.४४ अंकले बढेर २६९३.०६ अंकमा पुग्दा ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।
सोमबार नेप्से १.६० अंकले बढेर २२६९४.६६ अंकमा पुग्दा ९ खर्ब २२ करोड ६३ लाख रुपैयाको सेयर किनबेच भएकोमा मंगलबार कारोबार रकम ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार रुपैयाँमा सिमित भएको हो ।
मंगलबार सबै उपसमूहमा गिरावट आएको छ । होटल तथा पर्यटन समूहमा सबैभन्दा बढी अर्थात १४७.४४ अंकले गिरावट आएको बजारमा भर्खरै आपिओ सूचीकरण भई कारोबारमा आएका पियोर इनर्जी र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । उपकार लघुवित्तको सेयर ५.५८ प्रतिशतले बढेको बजारमा नारायणी डेभलपमेन्ट बैंकको ३.०३ प्रतिशत र प्रभु स्मार्ट फन्डको इकाई मूल्य २.९५ प्रतिशतले बढेको छ ।
यता, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.३८ प्रतिशतले घटेको बजारमा बाराही हाइड्रोपावरको ३.९९ प्रतिशत, प्राइम कमर्सियल बैंकको ३.९५ प्रतिशत, लक्ष्मी सनराईज बैंकको ३.८८ प्रतिशत र सुर्याेदय वोमी लघुवित्तको सेयर मूल्य ३.८६ प्रतिशतले घटेको छ ।
मंगलबार कारोबार रकमका आधारमा राधी विद्युतको ६० करोड १५ लाख २ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएको सेयर संख्याको आधारमा न्यादी ग्रुप पावर १० लाख ४३ हजार ३२७ कित्ता सेयर कारोबार सहित शिर्ष स्थानमा हुँदा कारोबार संख्याका आधारमा ओम मेगाश्री फर्मास्युटिकल्स १५ हजार ९६ पटकको कारोबार सहित शिर्ष स्थानमा छ ।
बजारमा आएको गिरावटसँगै मंगलबार कुल बजार पुँजीकरण ४४ खर्ब २८ अर्ब ४० करोड ५ लाख ८४ हजार रुपैयाँ कायम भएको छ । सोमबार पूँजीकरण ४४ खर्ब ८७ अर्ब ८९ करोड ९० लाख रुपैयाँ थियो । मंगलबार बजार झण्डै ३६ अंकले घट्दा बजार पुँजीकरणमा झण्डै ६० अर्बको गिरावट आएको हो ।
प्रतिक्रिया