घरजग्गा कारोबार

घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्य, रजिस्ट्रेसन शुल्क र दस्तुर खरिदकर्ताको खाताबाट तिर्नुपर्ने

१० लाखदेखि माथि ५० लाख रुपैयाँसम्मको कारोबार बैंकिङ प्रणाली मार्फत गर्नुपर्ने


काठमाडौँ । सरकारले घरजग्गा कारोबारलाई कडाई गर्ने भएको छ । विभागले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा निर्देशन जारी गर्दै घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य गरेको हो ।

हाल नेपाल ‘फाइनान्सियल टास्क फोर्स’ (एपफएटीएफ)को ग्रे लिस्टमा परेको छ । सरकारले ‘ग्रे लिस्ट’ बाट मुलुकलाई बाहिर निकाल्न घरजग्गा कारोबारमा थप कडाइ गरेको हो ।

‘घरजग्गा खरिद बिक्रीको कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबरको रकम जम्मा भएको प्रमाण लिखत साथ संलग्न गनुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।

उक्त सूचीबाट मुलुकलाई बाहिर निकाल्न नेपालले दुई वर्षको समय पाएको छ । यता, सरकारले पनि नेपालको वित्तीय छविलाई सुदृढ गर्न सम्पत्ति शुद्धीकरण सम्बन्धी ग्रे लिस्टबाट देशलाई शीघ्र बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२\८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसका लागि आवश्यक कानूनी तथा संस्थागत सुधार गरिने जानकारी दिएका हुन् ।  गम्भीर आर्थिक अपराध, विशेषतः वित्तीय छल, कर छली, अवैध सम्पत्ति संकलन र शुद्धीकरण जस्ता गतिविधिको अभियोजन तथा अनुसन्धान प्रक्रियालाई थप तीव्र र प्रभावकारी बनाइने उनले बताएका थिए ।

यसका लागि सम्बन्धित निकायलाई सशक्त बनाउँदै अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रणाली सुधार गरिने उनको भनाइ थियो । त्यसैअनुरुप घरजग्गा खरिद बिक्री कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबर रकम जम्मा भएको प्रमाण लिखतसाथ संलग्न गर्नुपर्ने व्यवस्था लागु भएको हो ।

घरजग्गा खरिद–बिक्री कारोबार गर्दा स्थानीय तहले प्रमाणित गरेको बैनाबट्टाको कागज पेस गरे पनि बैंक स्टेटमेन्ट अनिवार्य गरेको हो ।

यस्तै, सरकारले बैंकमार्फत राजस्व दाखिला गर्ने व्यवस्था भएका कार्यालयको हकमा १० लाखभन्दा बढीको घरजग्गा खरिद बिक्रीको कारोबार गर्दा लाग्ने रजिष्ट्रेशन वापतको शुल्क र दस्तुर खरिदकर्ताको खाताबाट र लाभकर वापतको राजस्व बिक्रीकर्ताको खाताबाट सम्बन्धित कार्यालयले तोकिदिएको राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बैंकिङ प्रणाली मार्फत कारोबार गर्नुपर्ने घरजग्गा खरिद–बिक्रीको कारोबार गर्दा १० लाखदेखि माथि ५० लाख रुपैयाँसम्मको कारोबार बैंकिङ प्रणाली वा विद्युतीय भुक्तानी प्रणाली मार्फत गर्नुपर्ने छ । ५० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार विद्युतीय भुक्तानी प्रणाली मार्फत सोझै र चेक मार्फत गर्दा बिक्रीकर्ताको नाममा तयार गरिएको गुड फर पेमेन्ट चेक मार्फत गर्नुपर्ने छ ।

त्यसैगरी लाभकर बापत राजस्व बिक्रीकर्ताको खाताबाट सम्बन्धित कार्यालयले तोकिदिएको राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था निर्देशनमा उल्लेख छ ।

त्यसैगरी अबदेखि घरजग्गा खरिद–बिक्री गर्ने खरिदकर्ता वा बिक्रीकर्ताले एक दिनमा एक पटक वा पटक पटक गरी ३ करोड वा त्यसभन्दा बढी रकमको घरजग्गा खरिद वा बिक्री गरेको विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पठाउनु पर्ने व्यवस्था गरेको छ ।

घरजग्गा खरिद वा बिक्रीको कारोबार शंकास्पद देखिए कार्यालय र सूचक संस्थाले त्यसको जानकारी नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइमा पठाउनु पर्ने व्यवस्था निर्देशनले गरेको छ ।

निर्देशनमा उल्लेख भएको घरजग्गा खरिद–बिक्री कारोबार गर्ने व्यक्ति भन्ने शब्दले प्राकृतिक व्यक्ति र कानुनी व्यक्ति दुवैलाई जनाउने उल्लेख छ ।

 

प्रकाशित मिति: २१ जेठ २०८२, बुधबार  ०९ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।