पूर्वीनाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोडको पेट्रोलियम पदार्थ आयात


काठमाडौँ । आर्थिक वर्ष २०८१र८२ को १० महिनामा पूर्वी नाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोड १५ लाख रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएका हुन् ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको सोही अवधिको तुलनामा ९१ करोड ७७ लाख रुपैयाँ अर्थात् ५ दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने ५ दशमलव ९० प्रतिशत अर्थात् ४३ करोड ७४ लाख ४७ हजार रुपैयाँ ले बढेको उनले बताए ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको १० महिनामा पेट्रोलियम पदार्थ आयातबाट ७ अर्ब ८३ करोड ६२ लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा ७ अर्ब ३४ करोड ११ लाख रुपैयाँ मूल्य पर्ने ८४ हजार ३०० किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी, ५ अर्ब ५३ करोड ९६ लाख रुपैयाँ मूल्य पर्ने ५९ हजार ९७६ किलोलिटर डिजेल आयात भएको छ ।

चालु आवको १० महिनामा २अर्ब ३४ करोड रुपैयाँ मूल्य पर्ने २१ हजार १०६ मेट्रिक टन एलपी ग्यास, ५५ करोड ९४ लाख रुपैयाँ मूल्य पर्ने छ हजार ६० किलोलिटर एटिएफ र १९ करोड ६९ लाख रुपैयाँ मूल्य पर्ने २ हजार १५२ किलोलिटर मट्टितेल आयात भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २२ जेठ २०८२, बिहीबार  ०६ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।