बैंकहरुले व्यवसाय गर्न सिकाउनु पर्छ : गुरु न्यौपाने


काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडका संरक्षक गुरु न्यौपानेले बैंकहरुले व्यवसायीलाई व्यापार गर्न सिकाउनु पर्नेमा जोड दिएका छन् ।

बुधबार अपि पावर लिमिटेडको सहायक कम्पनी दार्चूला पावर कम्पनीले दार्चुलामा निर्माण गर्न लागेको मध्य चमेलिया (२८.३ मेवा) जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन समारोहमा उनले बैंकहरुले व्यवसायीहरुलाई कालोसूचीमा राखेको बताउँदै बैंकहरुले यस्तो नगरी व्यसाय गर्न सिकाउनु पर्नेमा जोड दिएका हुन् ।

उनले भने, ‘२५ हजार व्यवसायीहरु कालोसूचीमा छन्, उनीहरुलाई कालोसूचीबाट हटाएर व्यवसाय गर्न सघाउनु पर्छ । हामी अफ्ट्यारोमा परेका व्यवसायीदाई सहयोग गर्न चाहन्छौँ । ’

यस्तै, उनले राज्यले निजि क्षेत्रलाई प्रोत्साहन नगरेको बताए । उनले भने, ‘सरकारबाट बन्नुपर्ने आयोजना सफल नभएकोले आयोजनाको जिम्मा निजि क्षेत्रलाई दिनुपर्छ ।’
सोही समारोहलाई सम्बोधन गर्दै उनले अपी पावर लिमिटेडले आगामी दिनमा एक हजार मेघावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको जानकारी दिए ।

यसैबीच, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बैँक तथा वित्तीय संस्थाले ‘टेक एन्ड पे’ को विषयलाई लिएर जलविद्युत् क्षेत्रमा लगानी नगर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

‘बजेटमा ‘टेक एन्ड पे’ को शब्दले प्रवेश पाएपछि वित्तीय व्यवस्थापन कसरी होला भन्ने चिन्ता लिनुभएको होला, नआत्तिईकन लगानी गर्नुहोस्, उक्त प्रस्ताव ऊर्जा मन्त्रालयको होइन, सो प्रस्तावलाई संशोधन गर्न अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ,’ मन्त्री खड्काले भने ।

ऊर्जामन्त्री खड्काले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको र उक्त लक्ष्यलाई पूरा गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । ‘उत्पादन गर्नुपर्ने स्रोत हामीसँग छ, बजार हामीसँग छ, लगानी किन नगर्ने ?’ उनले भने ।

उनले छिमेकी मुलुक भारतसँगै नेपालले पहिलोपटक भारतीय प्रसारण लाइन हुँदै बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात थालनी गरेको र आगामी दिनमा यसलाई झन् बढाउन सकिने बताए । भारतसँग छलफल गरेर बंगलादेशको प्रसारण लाइन पनि विस्तार गर्ने गरी सरकार लागिरहेको उनको भनाइ छ। उर्जामन्त्री खड्काले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त लक्ष्यलाई पुरा गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । “उत्पादन गर्नुपर्ने स्रोत हामीसँग छ, बजार हामीसँग छ, लगानी किन नगर्ने,” उनले भने ।

दार्चुलाका प्रतिनिधीसभा सदस्य एवम् पूर्वमन्त्री दिलेन्द्रप्रसाद वडूले आयोजना निर्माणसँगै सिङ्गो मुलुक र दार्चुलावासीले लाभ पाउने विश्वास व्यक्त गरे । उनले निजी क्षेत्रलाई प्रसारण लाईन निर्माणमा ल्याउन सके उत्पादित विद्युत खेर नजाने बताए । उनले आगामी दिनमा पनि दार्चुलामा लगानी गर्न लगानीकर्तालाई आग्रह गरे ।

नेपाल बैँकको अगुवाईमा निर्माण हुन लागेको उक्त आयोजनामा नविल बैँकले पनि लगानी गर्ने प्रतिवद्धता जनाएको छ । पाँच अर्ब ६६ करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको उक्त आयोजना आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने कम्पनीका अध्यक्ष सञ्जीव न्यौपानेले जानकारी दिए । उक्त कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक पाण्डे र नबिल बैंकका कामु कार्यकारी अधिकृत मनोज ज्ञावलीले वित्तीय व्यवस्थापकको पक्षबाट हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति: २२ जेठ २०८२, बिहीबार  ०८ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।