काठमाडौँ । टिकटकले आफ्नो ‘फर यु फीड’ लाई प्रयोगकर्ताका लागि थप व्यक्तिगत र सुरक्षित बनाउन नयाँ नियन्त्रण टुलहरू सार्वजनिक गरेको छ ।
यी टुलहरूको उद्देश्य प्रयोगकर्तालाई आफ्ना रुचिअनुसारको सामग्री अझ सहजै पत्ता लगाउन, नचाहिने सामग्री सीमित गर्न मद्दत गर्ने बताइएको छ ।
नयाँ फिचरहरूमध्ये ‘म्यानेज टपिक्स’ मार्फत प्रयोगकर्ताले १० भन्दा बढी श्रेणीका भिडियोहरू (जस्तैः कला, यात्रा, खेलकुद आदि) को प्रदर्शन दर समायोजन गर्न सक्छन् । यसले प्रयोगकर्तालाई आफूले रुचाउने विषयका क्रियटर खोज्न सजिलो हुने छ ।
‘स्मार्ट किवर्ड फिल्टर’ ले एआई प्रविधि प्रयोग गरी अनावश्यक शब्द र तिनका मिल्दाजुल्दा शब्दहरूलाई फिल्टर गर्न अझ बढी सटिकता दिनेछ । आउने केही महिनामा फिल्टर गर्न सकिने किवर्डको संख्या १०० बाट बढाएर २०० पुर्याइने छ ।
पारदर्शिता बढाउन र प्रयोगकर्तालाई ‘फर यु फीड’ बुझ्न सहयोग गर्न शैक्षिक गाइड पनि जारी गरिएको छ । यसले ‘फर यु फीड’ ले कसरी काम गर्छ भन्ने बुझ्न आवश्यक टुल र टिप्सहरू समावेश गर्दछ ।
यी अपडेटले किशोर र प्रौढ दुवैका लागि ‘फर यु फीड’ अनुभवलाई सुरक्षित बनाउनमा केन्द्रित छन् । यसअन्तर्गत, आम दर्शकका लागि अनुपयुक्त वा किशोरहरूका लागि संवेदनशील सामग्री सिफारिस नहुने गरी मापदण्ड कडा पारिएको छ ।
प्रयोगकर्ताले भिडियो ‘रुचि छैन’ भनी संकेत गर्ने वा ‘रेस्ट्रिक्सन मोड’ सक्रिय गर्ने जस्ता टुल प्रयोग गरी आफ्नो फीडलाई थप नियन्त्रण गर्न सक्छन् । साथै, बारम्बार देखिँदा नकारात्मक असर पार्न सक्ने केही खास प्रकारका सामग्रीको सिफारिस पनि सीमित गर्ने प्रयास गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया