नविल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली नियुक्त


काठमाडौँ । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् । बिहिबार बिहान बसेकोे सञ्चालक समितिको  ६८२ औं बैठकले ज्ञवालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

यस अघि कायममुकायम सिइओको भूमिका निर्वाह गर्दै आएका ज्ञवाली बैकिङ क्षेत्रमा स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । उनले नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रही बैंकिङ क्षेत्रको अनुभव बटुलीसकेका छन् ।

सीएसमेत रहेका ज्ञवालीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २६ वर्ष लामोे अनुभव छ ।

त्यस्तै सोही समितीले नायब महाप्रबन्धक आदर्श बजगाँइलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ भने प्रमुख कानुन विभाग भिष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिएको छ ।

नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो ।  नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: २२ जेठ २०८२, बिहीबार  ११ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।