फुल कन्ट्याक्ट कराँते महासंघ विवादमा, १७ संघको बहिष्कारले खेल क्षेत्र आक्रोशित


काठमाडौँ । नेपालको फुल कन्ट्याक्ट कराँते खेल क्षेत्र फेरि एकपटक विवादको घेरामा परेको छ । नेपालको फुल कन्ट्याक्ट कराँते महासंघले राखेपमा दर्ता भएका २१ वटा कानुनी मान्यता प्राप्त संघहरूमध्ये १७ संघलाई पूर्ण रूपमा वेवास्ता गर्दै केवल ४ संघको उपस्थितिमा साधारणसभा गर्न लागेको निर्णयले अहिले खेल क्षेत्र नै आक्रोशित बनेको छ ।

उक्त महासंघ विघटन भएपश्चात् राष्ट्रिय खेलकुद परिषद्बाट कुनै पनि स्वीकृति नलिई शालिकराम कुँवरको अध्यक्षतामा अनाधिकृत रूपमा गठन गरिएको आरोप लागिरहेको छ । जेठ २४ गते आयोजना गर्न लागिएको साधारणसभामा युवा तथा खेलकुद मन्त्रालयका मन्त्रीलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएको खबर सार्वजनिक भएपछि विवाद झनै चर्किएको छ ।

करिब चार दशकदेखि कराँते क्षेत्रमा समर्पित रहँदै आएका सिहान प्रेमनाथ श्रेष्ठ भन्छन्, “हामी जस्ता संघसंस्थाले दशकौँ आफ्नो खर्चमा खेलाडी उत्पादन गर्दा सम्मान त टाढाको कुरा, अहिले त अस्तित्वमै प्रश्न उठ्ने बनाइएको छ । के यति सस्तो छ हाम्रो योगदान ?”

खेलकुदमा पारदर्शिता, सहभागिता र समानता मूलमन्त्र हो । तर हाल देखिएको रवैयाले कराँते खेल भित्र गम्भीर असन्तोष, विखण्डन र भविष्यप्रतिको अनिश्चय निम्त्याउने स्पष्ट संकेत गरेको छ । जब खेल संस्थामा राजनीतिक हस्तक्षेप, व्यक्तिगत स्वार्थ र गुटबन्दी हावी हुन्छ, तब खेलाडीको सपना मात्र होइन, राष्ट्रिय खेलको साख नै धरापमा पर्छ ।

खेलकुद क्षेत्रका जानकारहरू भन्छन्, “राखेपमा दर्ता भइसकेका सम्पूर्ण २१ संघहरूलाई सहभागी गराएर पारदर्शी र समावेशी साधारणसभा गर्न महासंघ बाध्य हुनुपर्छ ।” विपरीतमा, यो मनोमानी प्रवृत्तिले सम्पूर्ण फुल कन्ट्याक्ट कराँते परिवारलाई विभाजनतर्फ धकेल्ने चेतावनी उनीहरूले दिएका छन् ।

अब सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको भूमिका निर्णायक हुने छ । निष्पक्षता कायम गर्न र खेल क्षेत्रको गरिमा जोगाउन यस्ता गतिविधिमाथि तत्काल निगरानी, अनुसन्धान र आवश्यक हस्तक्षेप आवश्यक छ । नत्र भने राजनीतिक चलखेलको भरमा चलेका यस्ता ‘साधारणसभा’ हरूले नेपालको खेल क्षेत्र अन्तर्राष्ट्रिय मञ्चमा पनि हास्यास्पद बन्ने जोखिम थप्नेछ ।

प्रकाशित मिति: २२ जेठ २०८२, बिहीबार  १५ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।