बीमा प्रतिविम्बको दोस्रो संस्करण सार्वजनिक , १ लाख ५ हजार ६२० वटा दाबी भुत्तानी हुन बाँकी 


काठमाडौँ । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मका बीमा क्षेत्रका मुख्यमुख्य तथ्याङ्कको विश्लेषणसहित बीमा प्रतिविम्बको दोस्रो संस्करण सार्वजनिक गरेको छ ।

यस संस्करणमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म जारी बीमालेख सङ्ख्या, प्रदेशगत रूपमा बीमालेख सङ्ख्या, बीमाशुल्क सङ्कलन, बीमा दाबी भुक्तानी विवरण, जीवन बीमाको पहुँचजस्ता विषय समेटिएको छ । यस्तै, बीमकको वित्तीय अवस्था, समर्पण तथा व्यतित विवरण, बीमकका शाखा कार्यालय तथा कर्मचारी विवरणलगायत बीमा क्षेत्रका समग्र सूचकाङ्क विश्लेषणसहित प्रस्तुत गरिएको छ ।

उक्त सामग्रीमा नेपालको बीमा क्षेत्रले गत वर्षभर उल्लेखनीय प्रगति हासिल गरेको जानकारी दिइएको छ । यस्तै बीमा शुल्क सङ्कलन, बीमालेख जारी र दाबी भुक्तानीमा सकारात्मक वृद्धि देखाएको छ । यसले देशको आर्थिक विकासमा बीमा क्षेत्रको महत्त्वपूर्ण योगदानलाई उजागर गरेको छ ।

चालु आर्थिक वर्षको गत वैशाख मसान्तसम्ममा जीवन बीमा क्षेत्रले १५ .५५ प्रतिशतले वृद्धि हासिल गर्दै १ खर्ब ४० अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क सङ्कलन गरेको छ । कुल बीमा शुल्क सङ्कलन १ खर्ब ७६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा १४.०३ प्रतिशतले बढी हो ।

दाबी भुक्तानीतर्फ जीवन बीमामा दाबी भुक्तानीको सङ्ख्या २ लाख १८ हजार ९५१ रहेको छ । जसअन्तर्गत ४८ अर्ब ९५ करोड रुपैयाँ भुक्तानी भएको छ । गत आवको वैशाख मसान्तसम्मको तुलनामा दाबी भुक्तानी सङ्ख्या र रकममा केही कमी आएको देखिन्छ ।

साथै, ५३ हजार ४८१ वटा दाबीअन्तर्गत ४ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । निर्जीवन बीमातर्फ गत वैशाख मसान्तसम्म कुल एक लाख १३ हजार ९३७ वटा दाबी भुक्तानी भएको छ । जसअन्तर्गत १२ अर्ब ५८ करोड रुपैयाँ भुक्तानी भएको छभने ३० अर्ब ३३ करोड रुपैयाँ बराबरको कुल १ लाख ५ हजार ६२० वटा दाबी सङ्ख्या भुत्तानी हुन बाँकी छ ।

गत वैशाख मसान्तसम्म ८८ हजार ६३५ बीमालेख समर्पण भएका छन् । जसअन्तर्गत १२ अर्ब २७ करोड रुपैयाँ समर्पण रकम छ । त्यसैगरी, १२ लाख ५४ हजार ४७८ बीमालेख व्यतित भएका छन्, व्यतित बीमालेखको रकम ३६ अर्ब ८६ करोड रुपैयाँ छ । बीमा शुल्क सङ्कलन, बीमालेख जारी र कर्मचारी सङ्ख्यामा वृद्धिले यस क्षेत्रको विस्तार र जनताको विश्वास बढाएको छ । तर, दाबी भुक्तानीमा रहेको ढिलाइ र केही प्रदेशमा सेवा पुग्न नसक्ने चुनौती अझै पनि रहेको प्राधिकरणको दाबी छ ।

प्रकाशित मिति: २५ जेठ २०८२, आइतबार  ०६ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।