अमेरिकाबाट विद्यार्थी भिसा र डीभी परेर गएका नेपाली युवा पनि निकालिए


काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर काठमाडौं आएका ३७ जनामध्ये एक जना डाइभरसिटी भिसा (डीभी) र एकजना अध्ययनका लागि अमेरिका पुगेका पुरुष रहेका छन् ।

अध्यागमन विभाग स्रोतका अनुसार, केही वर्षअघि विद्यार्थी भिसामा अमेरिका गएर न्यू ह्याम्पशायरमा अध्ययन गरिरहेका युवक पनि डिपार्टमा परेका छन् ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले गरेको सोधपुछका क्रममा दुईजना १० वर्षअघि नै अमेरिकाको डीभी परेका युवा पनि डिपार्टमा परेका छन्। उनीहरुले डिपोर्ट हुँदाको कारण भने खुलाएका छैनन् ।

यद्यपी आपराधिक गतिविधिमा संलग्नको आरोपमा फर्काएको अनुमान प्रहरीले गरेको छ । ब्युरोका एसपी नरेन्द्र कुवँरले एकजना डीभी र अर्का विद्यार्थी भिसामा १० वर्ष पहिलानै अमेरिका पुगेको खुलेको बताए ।

अमेरिकाबाट आइतबार ३२ पुरुष र पाँचजना महिला गरी ३७ जना डिपोर्ट भएर नेपाला फर्काइएको थियो । अमेरिकाले उनीहरूलाई ओम्नी एयर इन्टरनेशनलको विमान चार्टर गरेर नेपाल पठाएको हो ।

उनीहरूमध्ये पाँच महिलासहित ३० जना भने अवैध तरिकाबाट अमेरिका पुगेकाहरु छन् । उनीहरु अवैध बाटोमार्फत् अमेरिका पुगेका थिए । फर्किकाहरुमा केही सन् २०२२ र २०२५ मार्चमा अमेरिका पुगेकाहरू पनि छन् ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिएपछि यसअघि अमेरिकाले १४० नेपाली डिपोर्ट गरिसकेको छ । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, अमेरिकाबाट डिपोर्ट आएका ३७ जनालाई एरिजोना राज्यबाट ओम्नी एयर इन्टरनेश्नलको विमानमा फिर्ता पठाइएको थियो । उनीहरुलाई ढाका हुँदै काठमाडौं ल्याइएको थियो ।

आइतबार आइपुगेका ३७ जनासमेत जोड्दा अमेरिकाबाट डिपोर्ट भएर आउनेको संख्या १७७ पुगेको छ । डिपोर्ट हुनेहरूमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै रहेको बुझिएको छ ।ट्रम्पले सन् २०२५ जनवरी २० मा राष्ट्रपतिको शपथ लिएका थिए । सन् २०२५ जनवरी २० देखि जुन ४ सम्मको अवधिमा अमेरिकाले १४० जना नेपालीलाई डिपोर्ट गरेको हो ।

अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई डिपोर्ट गरिएको जनाइएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध कडा नीति लिँदै आएका छन् । अमेरिकाले भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ ।

प्रकाशित मिति: २७ जेठ २०८२, मंगलबार  ०६ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।