सच्याइयो विदेशी मदिराको भन्सार दर, कुन रक्सीमा कति लाग्छ ?


काठमाडौँ । सरकारले विदेशी मदिरा आयातमा लाग्ने भन्सार दर करेक्सन गरेको छ । बजेटमा ‘टाइपिङ मिस्टेक’ भएको भन्दै सरकारले विदेशी मदिरा आयात गर्दा लाग्ने भन्सार महसुल सच्याएको हो ।

विदेशी मदिरा आयात गर्दा प्रतिलिटरमा भन्सार लगाउँदै आएकामा अर्थमन्त्रीले बजेटमार्फत् संशोधन गर्दै मूल्यका आधारमा लगाउने व्यवस्था गरेका थिए ।

अब भने प्रतिलिटरमा लाग्दै आएको भन्सार वा मूल्यको प्रतिशतमा प्रस्ताव गरेको महसुलमा जुन धेरै हुन्छ, सोही भन्सार दर कायम हुनेछ ।

जेठ १५ गते अर्थ मन्त्रालयले वेबसाइटमार्फत् सार्वजनिक गरेको आर्थिक विधेयकमा स्पार्कलिङ वाइनमा पनि ८० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको थियो । अब भने प्रतिलिटर ३०० वा ८० प्रतिशतमध्ये जुन धेरै हुन्छ, सोही भन्सार महसुल लाग्ने व्यवस्था गरिएको हो । यसअघि पनि यसमा प्रतिलिटर ३०० रुपैयाँ नै भन्सार महसुल लाग्ने व्यवस्था थियो ।

भरमाउथ र बिरुवा वा बास्नायुक्त तत्वहरूबाट स्वादिष्ट बनाइएको ताजा अंगुरको अन्य वाइनमा प्रतिलिटर ३०० वा ८० प्रतिशतमा जुन बढी हुन्छ, सोही भन्सार लाग्ने व्यवस्था गरिएको छ । जेठ १५ मा यसमा पनि ८० प्रतिशत भन्सार लाग्ने भनिएको थियो। त्यसअघि भने प्रतिलिटर ३०० रुपैयाँ भन्सार महसुल लाग्ने व्यवस्था थियो ।

छ्याङ (कन्ट्री बियर), सेम्पेन सेरी मिड, पेरी, साइडर, साके र १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको जडीबुटी मिश्रित मदिरा, कक्टेल र अन्य फर्मेन्टेड मदिराको भने भन्सार ४० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्‍याइएको छ ।

आयातका हिसाबले ६० प्रतिशत वा त्यसभन्दा बढी अल्कोहल भएको अविकृत इथाइल अल्कोहलमा प्रतिलिटर ६० रुपैयाँ वा मूल्यको ३० प्रतिशतमा जुन बढी हुन्छ, सोही भन्सार महसुल लाग्ने भएको छ । यसअघि ६० रुपैयाँ प्रतिलिटर भन्सार लाग्दै आएकामा बजेटमार्फत् ३० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको थियो ।

८० प्रतिशतदेखि ९९ प्रतिशतसम्म अल्कोहल भएको विकृत स्पिरिट र अन्यमा पनि प्रतिलिटर ६० वा ३० प्रतिशतमध्ये जुन बढी हुन्छ, सोही भन्सार महसुल लाग्ने भएको छ । यसमा पनि ३० प्रतिशत प्रस्ताव गरेकामा संशोधन गरिएको हो । यसअघि प्रतिलिटर ६० रुपैयाँ भन्सार लाग्दै आएको थियो ।

ब्रान्डीका कच्चा पदार्थका रूपमा प्रयोग हुने सबै प्रकारका स्पिरिटमा प्रतिलिटर १ हजार ५०० वा मूल्यको ८० प्रतिशतमा जुन बढी हुन्छ, सोही भन्सार महसुल लाग्ने भएको छ । बजेटमा ८० प्रतिशत लाग्ने व्यवस्था गरिएकामा त्रुटि भएको भन्दै यसलाई पनि सच्याइएको हो ।

अन्य अंगुरको वाइन वा अंगुरको मार्कलाई आसवन गरी निकालिएको स्पिरिटमा भने प्रतिलिटर २ हजार वा १०० प्रतिशतमा जुन बढी हुन्छ, सोही भन्सार महसुल लाग्नेगरी संशोधन गरिएको छ । जेठ १५ मा मूल्यको १०० प्रतिशत भन्सार महसुल लाग्ने वयवस्था गरिएको थियो ।

ह्विस्कीको कच्चा पदार्थका रुपमा प्रयोग हुने स्पिरिटमा प्रतिलिटर १ हजार ५०० वा मूल्यको ८० प्रतिशतमा जुन बढी हुन्छ, सोही भन्सार महसुल लाग्ने बनाइएको छ । तयारी ह्विस्कीमा भने प्रतिलिटर २ हजार वा मूल्यको १०० प्रतिशतमा जुन बढी हुन्छ, सोही भन्सार लाग्ने व्यवस्था भएको छ ।

रम र अन्य स्पिरिटहरूको कच्चा पदार्थमा पनि मूल्यको ८० प्रतिशत भन्सार लाग्ने गरी आर्थिक विधेयक आएकामा संशोधन गरेर प्रतिलिटर १ हजार ५०० वा मूल्यको ८० प्रतिशतमा जुन बढी हुन्छ, सो बराबरको रकम भन्सार लाग्ने भएको छ ।

तयारी रममा प्रतिलिटर २ हजार वा मूल्यको १०० प्रतिशतमा जुन बढी हुन्छ, सोअनुसार भन्सार लाग्ने व्यवस्था गरिएको छ । यसमा पनि १०० प्रतिशतको व्यवस्थासहित आर्थिक विधेयक आए पनि अर्थमन्त्री पौडेलले संशोधन गरेका हुन् ।

जिनको कच्चा पदार्थको प्रतिलिटर १ हजार ५०० वा मूल्यको ८० प्रतिशत नै हुने गरी संशोधन भएको छ । तयारी जिनको भन्सार प्रतिलिटर २ हजार वा १०० प्रतिशतमा जुन बढी हुन्छ, सोहीअनुसार हुने भएको छ । यसमा पनि मूल्यको १०० प्रतिशतको व्यवस्था गर्न खोजिएकामा संशोधन भएको हो ।

अन्य सबै प्रकारका मदिराको कच्चा पदार्थमा ८० प्रतिशत भन्सार लगाउन खोजेकामा पुनः संशोधन भएर प्रतिलिर १ हजार ५०० वा मूल्यको ८० प्रतिशत कायम गरिएको छ । यस्तै, तयारी मदिरामा १०० प्रतिशतको सट्टा प्रतिलिटर २ हजार वा मूल्यको १०० प्रतिशतमा जुन बढी हुन्छ, सोही भन्सार लाग्ने भएको हो ।

त्यस्तै, वाइन आयातमा लिटरमा न्यूनतम ३०० रुपैयाँ भन्सार लाग्नेछ । ८० प्रतिशत भन्सार लगाउँदा ३०० रुपैयाँभन्दा कम हुने वाइनमा ३०० रुपैयाँ र सोभन्दा बढी हुनेमा भने लिटरको ८० प्रतिशत भन्सार लाग्नेछ । यसअघि सबै वाइनमा लिटरको २०० रुपैयाँ भन्सार लाग्थ्यो ।

बियर आयातमा पनि लिटरमा न्यूनतम २०० रुपैयाँ भन्सार लाग्नेछ । ८० प्रतिशत भन्सार लगाउँदा २०० रुपैयाँभन्दा कम हुनेमा २०० र सो भन्दा बढी हुनेमा मूल्यको ८० प्रतिशत भन्सार लाग्नेछ । यसअघि सबै बियरमा लिटरको २०० रुपैयाँ लाग्दै आएको थियो ।

प्रकाशित मिति: २७ जेठ २०८२, मंगलबार  ११ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।