जीवन बीमा कम्पनीबाट ९५ अर्ब ८३ करोड बढी कर्जा प्रवाह

 जीवन बीमा कम्पनीबाट ९५ अर्ब ८३ करोड बढी कर्जा प्रवाह

काठमाडौँ । जीवन बीमकहरुले ९५ अर्ब ८३ करोड ३८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बीमा प्राधिकरणका अनुसार, चालु आर्थिक वर्ष २०८३÷८४ को प्रथम त्रैमास (साउन–असोज)सम्मको तथ्यांकअनुसार १३ वटा बीमा कम्पनीहरुले गत वर्षको तुलनामा कर्जा प्रवाह ०.५६ प्रतिशतले बढाएका हुन् ।

अघिल्लो आर्थिक वर्ष २०८२/८३ को असोजसम्म कम्पनीहरुले बीमालेख धितो राखेर ९५ अर्ब २९ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

सर्वाधिक कर्जा प्रवाह गर्नेमा नेपाल लाइफ रहेको छ भने कर्जा वृद्धिदरका हिसाबले आइएमई लाइफ अगाडि रहेको छ ।

चालु आर्थिक वर्षको असोजसम्म नेपाल लाइफले ३४ अर्ब ७० करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको कर्जा प्रवाह १.२७ प्रतिशतले घटेको हो ।
अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३५ अर्ब १५ करोड कर्जा प्रवाह गरेको थियो ।

वृद्धिदरका हिसाबले आइएमई लाइफ २८.२२ प्रतिशतका साथ अगाडि रहेको छ । असोजसम्म यो कम्पनीले १ अर्ब ४० करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यसैगरी दोस्रो धेरै कर्जा प्रवाह गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसेन (एलआईसी नेपाल) रहेको छ । अघिल्लो वर्ष असोजसम्म २१ अर्ब १४ करोड २१ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिसम्म ६.८८ प्रतिशतले घटेर १९ अर्ब ६८ करोड ७२ लाख रुपैयाँमा झरेको छ ।

तेस्रोमा नेसनल लाइफ रहेको छ । चालु वर्षको असोजसम्म यो कम्पनीले १२ अर्ब ४७ करोड ५१ लाख रुपैयाँ कर्जा दिएको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १२ अर्ब ४७ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कर्जा प्रवाह ०.०२ प्रतिशतले बढेको छ ।

यस्तै, चालु आवको असोजमा हिमालयन लाइफ इन्स्योरेन्सबाट ८ अर्ब ७१ करोड ५० लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष ८ अर्ब १७ करोड २ लाख ९१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको कम्पनीको यो वर्ष ६.६७ प्रतिशत बढी कर्जा दिएको हो ।

यसैगरी, एशियन लाइन इन्स्योरेन्सले ५ अर्ब ३० करोड ४ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्सले ५ अर्ब ३४ करोड ६५ लाख ३९ हजार, मिट लाइफले १ अर्ब ७२ करोड ५५ लाख ९८ हजार, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २ अर्ब ६ करोड ६ लाख ६१ हजार रुपैयाँ कर्जा दिएको छ ।

चालु आर्थिक वर्षको असोजसम्म सबैभन्दा कम कर्जा प्रवाह गर्नेमा रिलायबल नेपाल लाइफ रहेको छ । यो कम्पनीले ७० करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रकाशित मिति: १३ मंसिर २०८३, आइतबार १३ : १२ बजे