नेपाल र साउदी अरबबीच श्रमिक लैजानेसम्बन्धी सम्झौता


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तरराष्ट्रिय मामिला उपमन्त्री तारिक अल हमदबीच नेपाली श्रमिक लैजाने महत्वपूर्ण विषयमा सहमति भएको छ ।
आज जेनेभामा भएको साइडलाइन द्विपक्षीय भेटवार्ता र छलफलका क्रममा दुई देशबीच श्रमिक लैजाने सम्बन्धमा महत्वपूर्ण सहमति भएको मन्त्री भण्डारीको निजी सचिवालयले जानकारी दिएको हो ।
मन्त्री भण्डारीले घरेलु श्रमिकको सम्झौतालाई थाती राखेर सामान्य र सीपयुक्त श्रमिकको सीप प्रमाणीकरण कार्यक्रमसम्बन्धी तत्काल दुईवटा सम्झौता गर्न साउदी अरब तयार भएको बताए ।  नेपालले साउदीसँगको सामान्य श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा सहमति जनाइसकेको छ ।
“साउदीसँग सामान्य श्रमिक लैजाने श्रम सम्झौतामा यसअघि नै सहमति भइसकेको छ । यसमा हस्ताक्षर हुन मात्रै बाँकी छ”, मन्त्री भण्डारीले भने, “साउदीले घरेलु श्रमिकसम्बन्धी सम्झौता भएपछि मात्रै सामान्य सम्झौतामा हस्ताक्षर हुन सक्ने अडान लिएको थियो । हालको बैठकले सहमति भइसकेको सम्झौता अगाडि बढाउने र घरेलु श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा थप गृहकार्य गर्ने गरी टुङ्गो लगाएको छ ।”
उनले दुई देशबीच श्रम सम्झौता भइसकेपछि मात्रै घरेलु श्रमिकको सम्झौता गर्नुपर्ने नेपालको संसदीय समितिको निर्देशन रहेको साउदी पक्षलाई जानकारी गराए । मन्त्री भण्डारीले यसका लागि पाइलट परियोजना आवश्यक पर्ने जानकारी समेत दिए ।

प्रकाशित मिति: २८ जेठ २०८२, बुधबार  ०६ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।