काडमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का महानिर्देशक गिल्बर्ट एफ. होङ्बोसँग भेटवार्ता भएको छ ।
११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा जनेभामा भएको भेटवार्तामा श्रम तथा रोजगारका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा महासंघका अध्यक्ष ढकालले महासंघ मर्यादित श्रम र समावेशी आर्थिक वृद्धिका लक्ष्यहरूमा प्रतिबद्ध रहेर काम गर्दै आएको बताउँदै रोजगारदाता लक्षित सहयोग विस्तारमा जोड दिए । उनले आइएलओको निरन्तर सहयोगबाट नेपालका श्रमिक तथा उद्यम दुवैले ठोस प्रगति गर्न सक्नेमा आफु विश्वस्त रहेको बताउँदै आउने दिनमा थप सहयोगको अपेक्षा गरेको बताए ।
“नेपाल सन् २०२६ मा अतिकमविकसित देशको श्रेणीबाट स्तरोन्नती हुँदैछ, त्यसपछि नयाँ व्यापार नियमहरू लागू हुनेछन् । यसले हाम्रो निर्यात क्षमतामा र त्यससँग जोडिएका रोजगारीहरूमा असर पर्न सक्छ । त्यसैले यो अवस्थामा हाम्रो लागि सहयोगको खाँचो छ ।” उनले भने ।
उनले नेपाल जस्ता देशहरुको लागि विस्तारित व्यापार सुविधा, लगानी पहुँच सुधार वा प्राविधिक सहायता जस्ता उपायहरू अबलम्बन गर्नु पर्ने विषयलाई आइएलओले अन्तर्राष्ट्रिय छलफलहरूमा उठाउनु पर्ने धारणा राखे ।
नेपालको निजी क्षेत्रको एकमात्र आधिकारिक रोजगारदाता संगठनका रूपमा महासंघले त्रिपक्षीय श्रम प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष ढकालले स्पष्ट पारे । यस्तै उनले यस वर्षको आइएलओ प्रतिवेदनलाई स्वागत गर्दै भने, “यसको केन्द्रबिन्दुमा रहेको औपचारिकीकरण, श्रमिक सुरक्षाको मजबुतीकरण, र मर्यादित रोजगारी सिर्जना—यी सबै कुराहरू नेपालका लागि प्रत्यक्ष रूपमा सान्दर्भिक छन् ।”
उनले श्रमिक संगठनहरूसँगको सहकार्यलाई मजबुत बनाउन महासंघले सामाजिक संवादका संरचित मञ्चहरू स्थापना गरेको, द्विपक्षीय समझदारीपत्रहरूमा हस्ताक्षर गरेको, र औद्योगिक सम्बन्धमा सुधार ल्याउने प्रयासहरूलाई उल्लेख गरे ।
आइएलओसँगको निरन्तर सहकार्यप्रति आभार प्रकट गर्दै, अध्यक्ष ढकालले काठमाडौंस्थित आइएलओ कार्यालयबाट प्राप्त सहयोग प्रति आभार व्यक्त गरे । अध्यक्ष ढकालले नेपाललाई अनौपचारिक अर्थतन्त्रको औपचारिकीकरण प्रवद्र्धनमा ‘ग्लोबल च्याम्पियन’ देशमध्ये एकको रूपमा चयन गरिएको कुरालाई पनि स्मरण गर्दै यो मान्यताले महासंघको वर्षौंको प्रयासलाई सम्मानित गरेको विचार व्यक्त गरे ।
प्रतिक्रिया