गाँउपालिका अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती जडानका क्रममा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जना र विभिन्न सामान आपूर्तिकर्ता कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सो गाउँपालिकाको वडा नं १ देखि ९ सम्मका लागि सौर्यबत्ती जडानका लागि आर्थिक वर्ष २०७८÷७९ मा दुई करोड १६ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको थियो । विनियोजन भएको बजेटविपरीत खम्बा, सोलार प्यानल, लाइट, तार, नटबोल्ट, ब्याट्री, चार्ज कन्ट्रोलर खरिद तथा जडानसमेतका लागि बद्नियत राखी टुक्र्याएर पाँच वटा प्याकेज बनाइएको पाइएको छ ।

विनियोजित बजेटभन्दा बढी दुई करोड ५३ लाख १७ हजार २५० रुपैयाँ बराबरका लागि अनुमान स्वीकृत गरी बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको थियो । त्यसमा तीन वटा फर्मबीचमा मात्रै प्रतिस्पर्धा गराइएको थियो । सो कार्यका लागि गाउँपालिकाले दुई करोड ४९ लाख ४० हजार ११० रुपैयाँ बराबरको रकम विभिन्न सौर्यबत्ती कम्पनीलाई भुक्तानी दिएको थियो ।

सो कार्यमा भ्रष्टाचार भएको भन्दै आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादव र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबुप्रसाद साहविरुद्ध दुई करोड ४९ लाख ४० हजार ११० रुपैयाँ बराबरको बिगो माग दाबी गर्दै बिहीबार विशेष अदाmलतमा मुद्दा दायर गरेको हो ।

यसैगरी लेखापाल सञ्जयकुमार ठाकुर, जिन्सी शाखा प्रमुख रामकैलाश राय यादव, सबइञ्जिनियर सन्तोष राय र राजु रायविरुद्ध पनि समान बिगो माग दाबी गरिएको छ । यस्तै, लेखा अधिकृत शिवशङ्करप्रसाद कुशवाहाविरुद्ध ४७ लाख ४९ हजार ५६० रुपैयाँ, स्काई राइज टे«डिङ कन्सर्न मलङ्गवा सर्लाहीका सञ्चालक जयप्रकाश यादवविरुद्ध ५८ लाख ३९ हजार ८४० रुपैयाँ माग दाबी गरिएको छ ।

त्यस्तै, एसके स्टोर्स मलङ्गवाका सञ्चालक रञ्जुकुमारी साहविरुद्ध रु ९५ लाख २३ हजार ९१० र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्टचर सोलुसनका सञ्चालक सङ्गीताकुमारीविरुद्ध रु ९५ लाख ७६ हजार ३६० बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ३० जेठ २०८२, शुक्रबार  ०६ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।