आयोगलाई बोर्डको पत्र : ‘रियल नेटवर्थ ९०’ माथि भएका कम्पनीलाई मात्र आईपीओ अनुमति दिनु


काठमाडौँ । विद्युत् नियमन आयोगलाई नेपाल धितोपत्र बोर्डले ‘रियल नेटवर्थ ९०’ माथि भएका कम्पनीको प्राथमिक सेयर निष्कासनको अनुमति दिन पत्र काटेको छ । सार्वजनिक लेखा समितिको निणर्यलाई आधार देखाएर बोर्डले ९० नेटवर्थमाथि भएका कम्पनीलाई मात्र आईपिओको अनुमति दिन भनेको हो ।

झन्डै दुई वर्षदेखि आईपीओ अनुमति नदिएको र अनुमति दिलाइदिन्छु भन्दै बिचौलियाहरुले कमिसन माग्न थालेको भन्दै बोर्डको चर्को विरोध भइरहेको बेला ९० मुनिका जलविद्युत् कम्पनीलाई आईपीओ अनुमति नदिन बोर्डले आयोगलाई लेखेको पत्र बाहिरिएको हो ।

बोर्डले पठाएको पत्रमा भनिएको छ, “उपर्युक्त सम्बन्धमा सम्मानित सार्वजनिक लेखा समितिको मिति २०८०।०९।१२ को बैठकबाट पूनः मूल्यांकन नगरी रियल नेटवर्थ ९० भन्दा बढी भएका कम्पनीलाई मात्रै प्राथमिक सेयर (आईपीओ) जारी गर्न दिने गरी कार्य सम्पादन गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन प्राप्त भएको सन्दर्भमा तह आयोगले संगठित संस्थाहरूलाई प्रारम्भिक सार्वजनिक निष्कासनका लागि पूर्वस्वीकृति प्रदान गर्दा सम्मानित समितिको उल्लेखित निर्देशनलाई समेत मध्यनजर गरी सहयोग गरिदिनुहुन निर्णयानुसार अनुरोध छ ।”

लेखा समितिले धितोपत्र बोर्डलाई आफ्नो क्षेत्राधिकार मिच्दै नेटवर्थ ९० बढी भएको आयोजनाको मात्र सेयर निष्कासन गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति: ३० जेठ २०८२, शुक्रबार  ०९ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।