बैंकिङ सुधारका लागि उपसमिति गठन गर्नु ऐतिहासिक कदम : सिबिफिन


काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफीन) ले बैंकिङ क्षेत्रको सुधारका लागि नेपाल राष्ट्र बैंकबाट उपसमिति गठन हुनु स्वागतयोग्य कदम रहेको बताएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै कार्यबाहक अध्यक्ष राजेश उपाध्यायले नेपालको बैंकिङ इतिहासमा पहिलोपटक बैंकिङ क्षेत्रको सुधारमा केन्द्रित रहेर केन्द्रीय बैंकले राष्ट्रिय स्तरमा उपसमितिको गठन गर्नु ऐतिहासिक कदम भएको बताएका हुन् ।

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलको विशेष पहलमा बैंकिङ क्षेत्रका वस्तुगत समस्या एवं चुनौतीहरुको पहिचान र ठोस समाधान सहितका सुझाव पेश गर्नका लागि उपसमिति गठित भएको पनि सीबीफीनले जानकारी दिएको छ । यसै अवसरमा सीबीफीनले नव गठित उपसमितिलाई सरोकारवालाहरुसँग सघन छलफल तथा संवाद गर्दै बैंकिङ क्षेत्रमा उत्पन्न समस्या एवं चुनौतीहरुको चुरोमा पुगेर वास्तविक वस्तुस्थिति बुझ्नका लागि विशेष सुझाव समेत दिएको छ । नेपाल राष्ट्र बैंकबाट भइरहेको स्थलगत भ्रमण तथा अध्ययन, व्यवस्थापन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउने र विगतका नीतिहरुको समीक्षा गर्ने, हालै जारी वित्त नीतिको मर्म, वर्तमान आवश्यकता एवं अपेक्षाका आधारमा समयसापेक्ष मौद्रिक नीति ल्याई अर्थतन्त्र र वित्तीय क्षेत्रका समस्याहरुको निदान गर्ने गरी काम गर्न राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

आर्थिक एवं बैंकिङ क्षेत्रमा गहिरो अध्ययन तथा फराकिलो ज्ञान तथा अनुभव हासिल गरेका, केन्द्रीय बैंकभन्दा बाहिरका र निजीक्षेत्रको समेत अनुभव प्राप्त प्रतिष्ठित विषयविज्ञहरु सम्मिलित उक्त सुझाव उपसमितिले अर्थतन्त्र र बैंकिङ क्षेत्रमा विकसित पछिल्ला घटनाक्रम, वस्तुनिष्ठ अवस्था, समस्या एवं चुनौतीसहित वित्तीय प्रणालीका वास्तविक समस्या पहिचान गर्ने र निराकरणको सुझाव दिने सीबीफीनले विश्वास गरेको छ ।

नियामकीय सुधार, प्रणालीगत परिवर्तनका लागि आधार तय गर्ने र नीति निर्माणका लागि मार्गदर्शन हुनेमा सिबिफिन पूर्ण विश्वस्त रहेको विज्ञप्तिमार्फत सीबीफीनले जानकारी दिएको छ । उपसमितिले गर्ने हरेक अध्ययन, अनुसन्धान, छलफल तथा संवादका प्रक्रियाहरुमा सामेल भई खोजमूलक अध्ययनको आधारमा तर्कपूर्ण सुझावहरुको साथमा उपसमितिसमक्ष आवश्यक समन्वय, सहजीकरण र सहयोग गर्न सीबीफीन तयार रहेको पनि बताए ।

प्रकाशित मिति: ३० जेठ २०८२, शुक्रबार  १६ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।