काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा राष्ट्र बैंकले तीन सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलको सदस्यमा भुवनकुमार दाहाल र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रहेका छन् । यो कार्यदलको समयावधि एक महिनाको रहने छ ।
कार्यदलले बैकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा, आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा र बैंक तथा वित्तीय संस्था गाभ्ने, प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा, नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा र पूँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा कार्य सम्पन्न गर्न जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया