सहकारीका सिद्धान्त सबैलाई थाहा छ तर जिम्मेवार कोही भएनन्ः सचिव शर्मा


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष केदारनाथ शर्माले सहकारी सञ्चालकले जिम्मेवारी अनुसार काम नगर्दा सहकारी क्षेत्रमा समस्या आएको बताएका छन् ।

मंगलबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र सहकारी विभागले संयुक्त आयोजना गरेको ‘सहकारीको दिगोपनाका लागि अबको रणनीति’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘सहकारीका मूल्य मान्यता र सिद्धान्तका बारेमा सरकार र सञ्चालक सबैलाई थाहा छ । तर, जिम्मेवार भएर काम नगर्दा समस्या आएको हो ।’

अभियानले अविभावकत्व बहन नगर्दा समस्या आएको बताउँदै उनले भने, ‘सहकारीमा स्वनियमनका नाममा सबै आफैलाई मालिक बनाईयो । नियामक निकायको पनि कमजोरी छ । १६÷१७ वर्षको बच्चालाई अभिभावकले स्वतन्त्र रुपमा छाडे जस्तो देखियो ।’

सोही कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगानाले अर्थतन्त्रको प्रमुख खम्बा मानिएको सहकारी क्षेत्र बिना आर्थिक विकास र समृद्धिका कुरा गर्नु न्यायोचित नहुने बताए । ‘आर्थिक विकासको सम्बाहक सहकारी पनि हो । समुदाय स्तरमा चल्ने स्वनियमन र स्वनियमनमा चल्ने संस्थाका सदस्यहरु नै मालिक हुने संस्था हो । संविधानमा नै तीन खम्बे नीतिमा अंगिकार गरेको छ ।’

तर, पछिल्लो समयमा सहकारीमा सुशासनको समस्या देखिएको उनले बताए । उनले भने, ‘सञ्चालकहरुको बदमासीले समग्र सहकारीमा असर परेको छ । सबै सहकारीमा समस्या छैन भनिएको छ । तर, नियमनका क्रममा राम्रा भनिएका सहकारी संस्थामा पनि आन्तरिक रुपमा कमजोर रहेको पाइएको छ । जनशक्ति अभावका कारण विभागको नियमन क्षेत्रका सबै सहकारीमा नियमन गर्न सकेका छैनौं । तर, राम्रा भनिएका सहकारीमा आन्तरिक मूल्यांकन गर्दा कमजोर रहेको पाइएको छ ।’

राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रको सशक्तीकरणका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै पत्रकारहरूलाई सहकारीको सकारात्मक पक्षसमेत उजागर गर्न आग्रह गरिन् ।

‘पत्रकारहरुको कलम निरन्तर खबरदारी गर्न र सहकारीमा भएका राम्रा पक्ष उजागर गर्न आवश्यक छ । अहिलेको विषम परिस्थितिमा पनि सहकारीले राम्रो काम गरिरहेको छ भन्ने सन्देश प्रवाह गर्न सकिन्छ, जसले अन्य क्षेत्रका व्यक्तिमा पनि सहकारीप्रति सकारात्मक धारणा बनाउन सहयोग पुर्याउँछ’, अध्यक्ष मल्लले भनिन् ।

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार  १७ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।