नौ महिनामा वैदेशिक यात्रामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम, विद्यार्थीले मात्रै लगे एक खर्ब १२ अर्ब

नौ महिनामा वैदेशिक यात्रामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम, विद्यार्थीले मात्रै लगे एक खर्ब १२ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो साउनदेखि चैत मसान्तसम्म वैदेशिक यात्रामा १ खर्ब ६५ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको नौ महिनाको विवरणअनुसार २०८२ साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा उक्त रकम देशबाट बाहिरिएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यसरी देशबाट बाहिरिने रकम २।६ प्रतिशतले कमी आएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा नेपालीहरू विदेश जाँदा एक खर्ब ६९ अर्ब ८४ करोड रुपैयाँ देशबाट बाहिरिएको थियो ।

यता, नौ महिनाको अवधिमा विदेश पढ्न जाने विद्यार्थीले मात्र एक खर्ब १२ अर्ब ८४ करोड रुपैयाँ लगेका छन् ।

अघिल्लो आर्थिक वर्षमा विद्यार्थीले एक खर्ब ३ अर्ब ७९ करोड रुपैयाँ लगेका थिए ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपाल घुम्न आउने पर्यटकले ६४ अर्ब १० करोड रुपैयाँ खर्च गरेका छन् । जुन गत वर्षको तुलनामा ३.८ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोही अवधिमा नेपाल घुम्न आउने पर्यटकले ६६ अर्ब ६६ करोड रुपैयाँ खर्च गरेका थिए ।

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार ०९ : ०४ बजे