युद्ध–विराम प्रयासका बावजुत इजरायलद्वारा लेबनानमा आक्रमण जारी

युद्ध–विराम प्रयासका बावजुत इजरायलद्वारा लेबनानमा आक्रमण जारी

संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा गरिएको युद्ध–विराम प्रयासलाई अस्वीकार गर्दै हेजबुल्लाह विरुद्धको आसन्न आक्रमणको चेतावनी पछि इजरायली वायु सेनाले शुक्रबार लेबनानको गाउँमा आक्रमण गरेको छ ।

गत फेब्रुअरी –२८ मा इरानका सर्वोच्च नेताको हत्याको बदला लिन हिज्बुल्लाहले मार्च –२ मा इजरायल माथि आक्रमण गरे पछि लेबनान मध्यपूर्वको चरम युद्धमा तानिएको थियो ।

यस हप्ता वासिङ्टनमा भएको लेबनानी र इजरायली दूतहरूको सयुक्त बैठकमा हेजबुल्लाहले स्पष्ट असहमती जनाउदै सशर्त युद्ध–विराममा सहमति भएको थियो । जसमा हेजबुल्लाह समूहले प्रभावकारी युद्ध–विराम र दक्षिण लेबनानबाट पूर्ण इजरायली फिर्तीको माग गरेको थियो ।

इजरायलले इरानसँगको युद्ध सुरु भए देखि लेबनानमा आफ्नो चर्को आक्रमण गरेको छ, जुन युद्ध आफ्नो सहयोगी अमेरिकासँग मिलेर सुरु गरेको थियो ।

शुक्रबार इजरायली सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले दक्षिण लेबनानको सराफान्डसहित ६ वटा अन्य सहर र गाउँका बासिन्दाहरूलाई तत्काल खाली गर्न चेतावनी दिएको शुक्रबार बताएका छन् ।

यस अघि उनले दक्षिणी लेबनानको लिटानी नदीको उत्तरमा रहेका तीनवटा गाउँका वासिन्दाहरुलाई आफ्नो घर छोड्न चेतावनी दिएको जनाएका थिए ।

आफ्नो सुरक्षाका लागि, तुरुन्तै आफ्नो घर खाली गरी सहरबाट कम्तिमा एक हजार मिटर टाढा खुला क्षेत्रमा जान आदेश दिएको प्रवक्ता अद्राईले उल्लेख गरेका छन् ।

हेजबुल्लाहका कार्यकर्ताहरू, उनीहरूको सुविधाहरू, वा उनीहरूको हतियारहरू भण्डारणको नजिक रहेमा उनीहरूलाई खतरा रहने पनि सुझाव दिइएको छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीले चेतावनी जारी गरिएका गाउँहरूबाट सामूहिक विस्थापन भएको रिपोर्ट गर्दै एउटा गाउँमा आक्रमण भईसकेको रिपोर्ट गरेको छ ।

लेबनानको दक्षिणी सहर टायरमा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु भएको लेबनानको नागरिक सुरक्षा स्रोतलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

यस अघि हेजबुल्लाह प्रमुख नईम कासिमले बिहीबार वाशिंगटनमा लेबनानी र इजरायली दूतहरूले घोषणा गरेको युद्ध–विरामलाई अस्वीकार गरेका थिए ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले सेनाले “यस चरणमा, आफ्ना अपरेसनहरू जारी राख्ने बताएको थियो ।

हेजबुल्लाहले इजरायली समुदायमाथि आक्रमण गरेमा इजरायली सेनालाई लेबनानको राजधानी बेरुतमा आक्रमण गर्ने “स्वतन्त्रता“ रहेको पनि उनले बताएका थिए ।

टायर सहरको जबल अमेल अस्पताल नजिकै भएको इजरायली आक्रमणमा रातारात चार जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएको जनाइएको छ । यसैगरी आवासीय क्षेत्रमा भएको अर्को आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने दुई बच्चासहित पाँच जना घाइते भएका छन् ।

इजरायली बासिन्दाहरूलाई टायरको अधिकांश भाग छोड्न आदेश दिए पछि, धेरै मानिसहरू अनेत्रका शहरहरुमा शरण लिन बाध्य भएको जनाइएको छ ।

आश्रयहरू भरिएका कारण, विस्थापित बासिन्दाहरू कार वा शिविरमा सुतिरहेको जनाइएको छ ।

हेजबुल्लाह लेबनानको लडाकु समूह हो जसले सन् १९७५–१९९० को गृह युद्ध पछि आफ्नो हतियार हस्तान्तरण गर्न अस्वीकार गरेको थियो ।

लेबनानी सरकारले हेजबुल्लाहको सैन्य गतिविधिलाई अवैध घोषणा गरेको छ भने इजरायल नजिकैको लिटानी नदीको दक्षिण क्षेत्रमा उक्त समूहलाई निशस्त्र पार्ने प्रयास भईरहेको जनाइएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले मार्च –२ देखि इजरायलले गरेको आक्रमणमा कम्तीमा तीन हजार ५२६ जनाको मृत्यु भएको जनाएको छ ।

प्रकाशित मिति: २२ जेठ २०८३, शुक्रबार १६ : १० बजे