प्रकाशकीयः नोटबजार आठौँ वर्षमा प्रवेश, ‘कमिटेड फर एक्युरेसी’ को मन्त्रलाई थप सशक्त बनाउँछौँ

प्रकाशकीयः नोटबजार आठौँ वर्षमा प्रवेश, ‘कमिटेड फर एक्युरेसी’ को मन्त्रलाई थप सशक्त बनाउँछौँ

सञ्चारमाध्यमहरूको भिडमा समग्र आर्थिक क्षेत्रलाई केन्द्रमा राखेर तथ्यपरक र सन्तुलित समाचार सम्प्रेषण गर्ने लक्ष्यका साथ उपस्थिति जनाएको नोटबजार डटकमले २०८३ साउन १ गतेदेखि आफ्नो यात्राको सातौँ वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । अर्थात् आजदेखि हामीले आठौंँ पाइला चालेका छौँ । यस सुखद् घडीमा नोटबजार परिवार आमपाठक, समाचार स्रोत, विज्ञापनदाता, शुभचिन्तकलगायत सबैप्रति विशेष आभार व्यक्त गर्दछ । संस्थामा कार्यरत कर्मचारी, प्राविधिक, सहयोगीहरूको भूमिकाप्रति पनि हार्दिक आभार व्यक्त गर्दछौँ ।

आर्थिक विषयलाई मुख्य विधा बनाएर गरिने पत्रकारिताको इतिहास धेरै लामो छैन । त्यसमा पनि अनलाइन माध्यमबाट हुने यस किसिमको पत्रकारिताको इतिहास झनै छोटो छ । प्रविधिको विकाससँगै हरेक व्यक्तिको हात हातमा समाचारको पहुँच पुगिरहेको वर्तमान सन्दर्भमा पाठकको सही सूचनाको उपलब्धता पनि चुनौतीपूर्ण बन्दै गएको सर्वविदितै छ ।

यही चुनौतीलाई नजिकबाट अनुभूत गरेर ‘कमिटेड फर एक्युरेसी’ अर्थात् ‘तथ्यमा प्रतिबद्ध’ हुने प्रण गर्दै नोटबजारको परिकल्पना गरिएको थियो । आमपाठकलाई तथ्यपरक सूचना उपलब्ध गराउने उद्देश्यका साथ २०७६ साउन १ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको नोटबजार यो ७ वर्षको अवधिमा कतै पनि विचलित भएको छैन भन्ने हाम्रो दाबी छ ।
यस अवधिमा नोटबजारमा प्रकाशन भएका समाचार सामग्रीमा हामीले गरेका प्रतिबद्धता कति पूरा भए, कति बाँकी छन्, यसको मूल्यांकन आमपाठकले नै गर्दै आउनुभएको छ । विगतमा जस्तै आगामी दिनमा पनि आमपाठकबाट रचनात्मक र सिर्जनात्मक सुझावको अपेक्षा गर्दछौँ ।

यो ७ बर्षे अवधिमा तथ्य र तथ्यांकमा आधारित रहेर आमपाठकलाई अर्थतन्त्रका विविध पक्षहरूमा सुसूचित गर्ने मात्र नभई सम्बन्धित निकायलाई खबरदारी गर्ने काममा थप सशक्त बन्न नोटबजार परिवारलाई थप प्रेरणा मिलेको छ ।

आमपाठक, विज्ञापनदाता, समाचार स्रोत, शुभचिन्तक तथा सम्पूर्ण सरोकारवालाहरूबाट पाएको अगाध विश्वास, स्नेह र सहयोगले नोटबजारलाई आगामी दिनमा थप जिम्मेवार बनेर अघि बढ्ने साहस जगाएको छ ।

आमपाठकले दिएको जिम्मेवारी शिरोपर गर्दै आगामी दिनमा पनि आर्थिक विषयवस्तुमा केन्द्रित रहेर कलम चलाउने प्रतिबद्धता व्यक्त गर्दछौँ । त्यसका लागि यहाँहरूको सक्रिय सहयोग, सल्लाह सुझाव र सूचनाको उपलब्धता सदैव अपेक्षित छ ।
- महेश सापकोटा, प्रकाशक ।

प्रकाशित मिति: १ साउन २०८३, शुक्रबार १२ : ५७ बजे