म्याग्दी । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण थालेको डेढ दशकपछि व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरेको छ ।
पहिलोपटक ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको आयोजना ठेकेदारको समस्या, ठेक्का रद्द, पुनर्संरचना, नयाँ ठेकेदार छनोट, कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावलगायतका कारण डेढ दशकपछि सम्पन्न हुन लागेको हो ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको यस आयोजनाको परीक्षण अवधि पूरा गरेर व्यावसायिक उत्पादन थालिएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए ।
“म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युतगृह परिसरमा असोज ११ गते कालीगण्डकीको बाढीले कटान गरेर क्षति पुर्याएपछि असोज ६ गतेदेखि सुरु भएको आयोजनाको परीक्षण अवधि लम्बिएको हो”, उनले भने, “प्राकृतिक विपत्ति, कोभिड–१९, भन्सार प्रक्रियाको समस्या, अन्तरराष्ट्रिय युद्धको असर, कालीगण्डकी नदीमा नदीजन्य पदार्थ उत्खननमा लगाइएको रोकलगायत कारणले आयोजना निर्माणमा ढिलाइ भएको हो ।”
रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुईवटा पानी थिग्य्राउने पोखरी रहेका छन् । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–सडक छेउमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा विद्युतगृह रहेको छ । आयोजनाको छ किलोमिटर २७० मिटर लामो सुरुङ निर्माण भएको छ ।
