माग धान्न करोडौँको कफी आयात भइरहँदा स्वदेशी व्यवसायी भने मूल्य नपाएर निर्यात गर्न बाध्य

माग धान्न करोडौँको कफी आयात भइरहँदा स्वदेशी व्यवसायी भने मूल्य नपाएर निर्यात गर्न बाध्य

काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा कफीको माग बढ्दै गएको छ । सहरी क्षेत्रमा कफी पिउने संस्कृतिको विस्तार, कफी शप तथा क्याफेहरूको बढ्दो संख्या र उपभोक्ताको बदलिँदो खानपान शैलीका कारण नेपाली बजारमा कफीको खपत बढ्न थालेको हो ।

घरदेखि कार्यालय, होटल, रेस्टुरेन्ट तथा क्याफेसम्म कफीको प्रयोग विस्तार हुँदै जाँदा यसको बजार पनि फराकिलो बन्दै गएको छ । बजारमा कफीको माग बढ्दै गए पनि स्वदेशी उत्पादनले भने बजारको आवश्यकता पूरा गर्न सकेको छैन । मागअनुसार स्वदेशी उत्पादन पर्याप्त नहुँदा ठूलो परिमाणमा विदेशबाट कफी आयात गर्नुपर्ने अवस्था देखिएको छ । युवा पुस्तामा कफी पिउने आकर्षण बढ्नुका साथै विभिन्न स्वाद र परिकारमा कफी उपलब्ध हुन थालेपछि यसको खपत पनि बढेको हो ।

पहिले चिया पिउने चलन बढी रहेको नेपाली समाजमा पछिल्लो समय कफी पनि दैनिक उपभोगको पेय पदार्थका रूपमा स्थापित हुँदै गएको छ । कार्यालयमा काम गर्ने कर्मचारी, विद्यार्थी, व्यवसायी तथा पर्यटकले कफीलाई प्राथमिकता दिन थालेका छन् । विशेषगरी क्याफे संस्कृतिको विकाससँगै कफीको बजार विस्तार भएको व्यवसायीहरूको भनाइ छ ।

भन्सार विभागको तथ्यांक अनुसार, चालु आर्थिक वर्ष २०८३\८४ को ४ महिना (साउन–कात्तिक) मा मुलुकमा ७२ हजार ९९८ किलोग्राम कफी भित्रिएको छ भने मुलुकबाट १८ हजार १८४ किलोग्राम मात्रै कफी निर्यात भएको छ ।

स्वाद र गुणस्तरका हिसाबले नेपालको कफी उत्कृष्ट रहेको हुनाले अन्य मुलुकमा नेपाली कफीको माग भएको नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओमनाथ अधिकारीले बताएका छन् ।
‘यसरी नेपालीहरुले आफ्नो उत्पादनको मूल्य पाउनका लागि बाहिर निर्यात गर्ने गर्छन्, यसो हुँदा नेपाली कफी नेपालमा खपत नभई बाहिर जान्छ ।’ उनले भने, ‘केही मात्रामा रहेको कफीले नेपाली बजारको माग पूरा गर्न नसक्ने हुँदा बाहिरबाट आयात गर्नुपरेको हो ।’

नेपाली कफी स्पेसियालिटी कफीको रूपमा परिचित छ । नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तर हिसाबले बढी मूल्य प्राप्त गर्दै आएको उनको दाबी छ । उनका अनुसार, दिनहुँ कफी माग उच्च दरले बढे पनि आन्तरिक उत्पादनले माग धान्न नसक्ने अवस्था छ । प्रयोगकर्ताको माग बढ्नु, युवाको प्राथमिकतामा पर्दै जानु र क्याफे तथा कफी सप स्थापना बढ्दा कफी माग बढ्दै गइरहेको हो । यही कारण आन्तरिक माग पूरा गर्न कफी कम भइरहेको अधिकारीको भनाइ छ ।

नेपालमा अराबिका जातको कफी उत्पादन हुने गर्छ, सो कफी नै प्रयोगकर्ताको पहिलो रोजाइ बनेको अध्यक्ष अधिकारीले बताए । चिसो हावापानी र उच्च पहाडी भूभागमा रोप्दै आइएको नेपाली अराबिका कफी स्वभावैले अर्गानिक हुने भए पनि व्यावसायिक रूपमा ठूलो खेती नहुँदा उत्पादन पर्याप्त छैन । नेपालको गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वत र बागलुङ लगायत करिब ३२ जिल्लामा व्यावसायिक खेती हुँदै आएको छ, तर सरकारको बेवास्ताका कारण व्यवसायीक रुपमा फस्टाउन नसक्दा नेपालमा कफी निर्यातको करिब दोब्बर आयात हुने गर्छ ।

आयात\निर्यातको ५ वर्षे तथ्यांक

चालु आर्थिक वर्ष २०८३/८४ को चार महिनामा ५ करोड १० लाख रुपैयाँ बराबरको ७२ हजार ९९८ किलोग्राम कफी आयात भएको छ । सो परिमाणको कफी आयात हुँदा ३ करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । समिक्षा अवधीमा ४ करोड ३९ लाख रुपैयाँ बराबरको १८ हजार १८४ किलोग्राम कफी निर्यात भएको छ । नेपालले आफ्नो उच्च गुणस्तरको अग्र्यानिक कफी आयात मूल्यको तुलनामा २ देखि ३ गुणा बढी महँगो मूल्यमा विदेश निर्यात गर्छ ।

त्यसैगरी, गत आर्थिक वर्ष २०८२/८३ को चार महिनामा नेपालमा विभिन्न मुलुकबाट ३ करोड ६१ लाख रुपैयाँ बराबरको ५५ हजार ९७१ किलोग्राम कफी आयात भएको छ । सो परिमाणको कफी आयात हुँदा १० करोड ६० लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकले जनाएको छ । सोही समयमा नेपालबाट भने ३ करोड ३४ लाख १३ हजार रुपैयाँ बराबरको १७ हजार ९९४ किलोग्राम मात्र कफी निर्यात भएको हो ।

आर्थिक वर्ष २०८१/८२ को सोही अवधीमा नेपालमा ४ करोड २१ लाख ६१ हजार रुपैयाँको ६२ हजार ६२० किलोग्राम आयात हुँदा २ करोड ४५ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । सो समयमा ३ करोड ३२ लाख ५७ हजार रुपैयाँको १८ हजार ४६४ किलोग्राम मात्र निर्यात भएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा ६ करोड ९६ लाख १७ हजार रुपैयाँको १ लाख ६ हजार किलोग्राम कफी आयात गर्दा ४ करोड ६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो भने १ करोड ५५ लाख ३६ हजार रुपैयाँ बराबरको ११ हजार २८३ किलोग्राम मात्र निर्यात भएको थियो ।

आव २०७९/८० मा २ करोड ८४ लाख ३५ हजार रुपैयाँको ७ लाख ९३ हजार केजी आयात हुँदा २ करोड १३ लाख ९१ हजार रुपैयाँको १२ हजार ७४८ केजी मात्र निर्यात भएको थियो ।

नेपाली कफी २० भन्दाबढी मुलुकमा निर्यात

नेपालमा उत्पादित कफी जर्मन, जापान, अमेरिका, टर्की, युके लगायतका २३ देशमा निर्यात हुने गरेको भन्सार विभागले जनाएको छ । निर्यात हुने कफीको ठूलो हिस्सा युरोपेली मुलुक र एसियाका विकसित देशहरूमा पुग्ने गरेको छ ।

चार महिनाको अवधिमा जर्मनतर्फ १ करोड ४६ लाख रुपैयाँ बराबरको ५ हजार किलोग्राम कफी निर्यात भएको छ । त्यस्तै, जापानतर्फ ५ हजार ६७० किलोग्राम, अमेरिकातर्फ २ हजार ४७९ किलोग्राम, टर्कीतर्फ १ हजार १२० किलोग्राम र यूकेतर्फ ५०० किलोग्राम कफी निर्यात भएको छ ।

त्यस्तै, नेपालतर्फ भने ६८ मुलुकबाट कफी आयात भएको छ । जसमा सबैभन्दा बढी भारतबाट ४ करोड ५४ लाख रुपैयाँ बराबरको ६७ हजार २४७ किलोग्राम कफी आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: १० मंसिर २०८३, बिहीबार १३ : २२ बजे