जनसेवी लघुवित्तको आइपिओ बैशाख २७ गते देखि बिक्रीमा आउने

0
Shares

जनसेवी लघुवित्त वित्तीय संस्था लिमीटेडले यहि बैशाख २७ गतेदेखि सर्वसाधारणका लागि शेयर जारी गर्ने भएको छ । कम्पनीले ४ करोड ६३ लाख रुपैयाँ बराबरको आइपिओ निश्कासन गर्ने भएको हो ।

लघुवित्तको एक सय रुपैयाँ अंकित दरका कुल ४ लाख ६३ हजार कित्ता आइपिओमा वैशाख २७ गतेदेखि छिटोमा बैशाख ३१ गतेभित्र र सो अवधिसम्म बिक्री नभए ढिलोमा जेठ २६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले निश्कासन गर्ने कुल आइपिओमध्ये ७ हजार १४५ कित्ता सो कम्पनीका कर्मचारीका लागि, २३ हजार १६५ कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता शेयर सर्वसाधारणका लागि हुनेछ ।

लघुवित्तको जारी पूँजी १४ करोड ४३ लाख रुपैयाँ रहेको छ । जसमध्ये ९ करोड ८० लाख संस्थापकले हालेका छन भने आईपिओमार्फत ४ करोड ६३ लाख संकलन गर्नेछ । आइपिओपछि कम्पनीको चुक्तापूँजी १४ करोड ४३ लाखको उचाईमा पुग्नेछ ।

इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग दिएको हो । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको बुझाउछ ।

कम्पनीले शेयर निष्काशनको लागि एनएमबि क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक छनौट गरिसकेकोे छ ।

२०७२ कार्तिक २२ गते पर्वत जिल्लाको कुस्माबाट कारोवार सञ्चालन सुरु गरेको कम्पनीको पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा, कास्की, तनहूँ, लम्जुङ्ग र गोर्खा गरी १० जिल्ला कार्यक्षेत्र रहेको छ ।

लघुवित्तले चैत मसान्तसम्म ८७ लाख ५९ हजार खुद नाफा आर्जन गरेको छ ।