९९ करोडले पूँजी बढाउनुपर्ने दबावमा रहेको एनसीसी बैंकको वितरण योग्य नाफा ८४ करोड

0
Shares

नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी) ले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा गत वर्ष यसै अवधिको तुलनामा धेरै सूचाङ्कमा सुधार गरेको विवरण सार्वजनिक गरेको छ ।

बैंकले खुद नाफा, ब्याज आम्दानी, संचालन नाफा, कर्जा, निक्षेप लगायतका सूचकहरू सबल बनाएपनि बैंकको प्रतिशेयर आम्दानी र नेटवर्थ भने कमजोर बनेको छ ।

पचास प्रतिशत हकप्रद बिक्री गर्दा समेत राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्ता पूँजी पुर्याउन नसकेको बैंकको पतिशेयर आम्दानी खस्केको छ ।

समीक्षा अवधिमा बैंकले निक्षेप सात प्रतिशतले वृद्धि गरेको छ भने कर्जा लगानी करिब ११ प्रतिशतले बढाएको छ । बैंकको कोषको लागत तथा आधार ब्याजदर दुवै घटेको छ ।

बैंकले ९ महिनाको अवधिमा एक अर्ब १६ करोड खुद नाफा गरेको छ । जुन गतबर्षको यसै अवधिका तुलनामा ३१ प्रतिशत भन्दा धेरै हो । बैंकको वितरण योग्य नाफा ८४ करोड छ ।

हकप्रद बेचेर ५० प्रतिशत चुक्ता पूँजी वृद्धि गरेको बैंकको नाफा ३१ प्रतिशत मात्र वृद्धि भएकोले बैंकको प्रतिशेयर आम्दानी घटेको छ । बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ११ पैसा छ । गत वर्षको यसै अवधिमा २५ रुपैयाँ ३० पैसा थियो । यस्तै प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ छ ।

हाल बैंकको चुक्ता पूँजी ७ अर्ब एक करोड ८५ लाख रुपैयाँ छ । राष्ट्र बैंकले तोकेको न्यूनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बैंकलाई अझै ९९ करोड अपुग देखिन्छ । बैंकको जगेडा कोषमा ५ अर्ब २४ करोेड छ।

बैंकले यसअवधिसम्म ६१ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ८० करोड कर्जा लगानी गरेको छ। बैंकको कर्जा निक्षेप अनुपात सिसिडि रेशियो ७६.६१ प्रतिशत छ । बैंकको खराब कर्जा अनुपात ३.२६ प्रतिशत, आधार ब्याजदर १०.८६ प्रतिशत र कोषको लागत ७.९४ प्रतिशत रहेको छ ।