निक्षेप खोस्ने होडबाजी नियन्त्रण गर्न राष्ट्र बैंकको कडाई, हप्ता दिनमा दुई निर्देशन

0
Shares

बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनमा अस्वस्थ्य प्रतिस्पर्धा गर्न थालेपछि राष्ट्र बैंकले निक्षेप संकलनमा कडाई गरेको छ ।

केहि दिन अघि निक्षेप तान्न उपहार योजना संचालन गर्न नपाइने निर्देशन जारी गरेको राष्ट्र बैंकले आइतबार तीन महिना भन्दा कम अवधिको मुद्दती निक्षेप लिन नपाईने व्यवस्था गरेको छ ।

लगानी योग्य रकमको अभाव झेलिरहेका बैंकहरुले सिसिडि सन्तुलनमा राख्न उच्च ब्याजदरका साथै उपहार योजनामा समेत प्रतिस्पर्धा गर्न थालेपछि राष्ट्र बैंक कठोर बनेको हो । लगानीयोग्य रकमको अभाव भएसँगै बैंक तथा वित्तीय संस्थाले मुद्दती बचतमा उच्च ब्याजका साथमा अन्य आकर्षक उपहार योजना ल्याएर निक्षेप तान्ने गरेका थिए ।

अब बैंकहरुले ९० दिन भन्दा कमको मुद्दति निक्षेप उठाउन पाउनेछैन । यस अघि बैंकहरुले ६० दिनको, ७५ दिनको मुद्दति निक्षेप योजान समेत संचालन गर्ने गरेका थिए ।

साथै मुद्दति निक्षेपको समयावधि समाप्त नहुँदै पूर्वनिर्धारित व्याजदर कायमहुने गरी ग्राहकले चाहेको बखत जहिले पनि झिक्न पाउने गरी मुद्दति निक्षेप समेत स्वीकार गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

केहि बैंकहरुले मुद्दति निक्षेप जतिसुकै बेला झिक्न पाइने योजना संचालन गरेका थिए । अब त्यस्ता योजना समेत संचालन गर्न नपाउने भएका छन् ।

त्यस्तै अबका दिनमा बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्दा सुनचाँदीको सिक्का लगायत कुनै पनि किसिमका सिक्का उपहारहरु प्रदान गर्न नपाउने भएका छन् ।