नेप्से ६.३० अंकले बढ्यो, कारोबार रकम भने घट्दै

0
Shares

शेयर बजार परिसूचक नेप्से बढ्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । आइतबार ३ अंकले बढेको नेप्से सोमबार ६.३० अंकले बढेर एक हजार ३०० बिन्दुमाथि पुगेको छ । सूचक बढेपनि कारोबार रकम भने ६ करोड १७ लाख रुपैयाँले घटेको हो।

गत बिहीबारको तुलनामा आइतबार पनि ९ करोड ९२ लाख रुपैयाँले कारोबार घटेको थियो।

सोमबार करोबारमा आएका १२ उपसमुहहरुको सूचकमध्ये सात उपसमुहको सूचक सकारात्मक बनेका छन् भने पाँच सूचक ओरालो लागेका हुन्। उत्पादन तथा प्रशोधनको सूचक सबैभन्दा धेरै ५९.८१ अंकले सुधार भएको छ । यस्तै हाइड्रोपावर ३५.४६, होटल २०.६४, अन्य १४.७३, विकास बैंक ११.९४, वाणिज्य बैंक ०.८२ र म्युचुअल फण्ड ०.१० अंकले. सकारात्मक बनेका छन्।

उता निर्जीवन बीमा समुहको सूचक सबैभन्दा धेरै २५.६५ अंकले घटेको छ । यस्तै जीवन बीमा १३.०६, व्यापार ५.४९, माइक्रोफाइनान्स १.४६ र फाइनान्स ०.४३ अंकले ऋणात्मक बनेका छन् ।

सोमबार १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ कित्ता ७८ करोड ६४ लाख रुपैयाँ बराबरको किनबेच भएको छ । आइतबार ८४ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

चालु आवको तेस्रो त्रैमासमा खुद नाफा वृद्धि गरेको प्रतिवेदन सार्वजनिक भएसँगै सोमबार शिबम् सिमेन्टस्को शेयरमूल्यमा सर्किट लागेको छ । कम्पनीको सबैभन्दा धेरै ११ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भयो।

यसैगरि प्राइम कमर्सियल बैंकको ६ करोड २४ लाख, प्रिमियर इन्स्योरेन्सको ३ करोड ७८ लाख, नेपाल बैंकको ३ करोड ७५ लाख, सिभिल बैंकको २ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । एचआईडीसीएल, जनता बैंक, बुटवल पावर, अपर तामाकोशी, नेको इन्स्योरेन्सको पनि २ करोड बढीको करोबार भएको छ ।

शिबम् सिमेन्टस् र एचआईडीसीएलको शेयरमूल्य करिब दश प्रतिशतले बढेको छ भने किसान माइक्रोफाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र कालिका लघुवित्तको पनि ७ प्रतिशत भन्दा बढीले शेयरमूल्य बढ्यो।

उता राम्रै वित्तीय विवरणका बाबजुत पनि हिमालयन डिस्टीलरीको शेयरमूल्य सबैभन्दा धेरै ६.०७ प्रतिशतले घटेको छ । युनाइटेड मोदी हाइड्रेपावरको ५.६९ र जोशी हाइड्रोपावरको शेयरमूल्य ४.७६ प्रतिशतले झरेको छ । विशाल बजार कम्पनी, सगरमाथा इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स शेयरमूल्य ३ प्रतिशत बढीले घटेको छ।