गणपति माइक्रोको शेयर आइतबारदेखि नेप्सेमा किनबेच गर्न सकिने

0
Shares

गणपति माइक्रोफाइनान्सको शेयर नेपाल स्टक एक्स्चेन्जमा आइतबारदेखि किनबेच गर्न पाइने भएको छ ।

गणपतिले संस्थापकतर्फ ७ लाख र सर्वसाधारणतर्फको ३ लाख ३५ हजार गरी कुल १० लाख ३५ हजार कित्ता शेयर नेप्सेमा सूचिकृत गराएको छ ।

नेप्सेले स्पेशल प्रि ओपनका लागि गणपतिको प्रतिकित्ता शेयर मूल्य ७८.९० रुपैयाँदेखि २३६.७२ रुपैयाँको रेञ्ज तोकिएको छ । आइतबार बिहान १०ः३० देखि १०ः४५ सम्मको प्रि ओपन सेसनमा सो कम्पनीको कारोबार भएमा मात्र कारोबार नियमित हुनेछ ।

गणपति माइक्रोफाइनान्सले सर्वसाधारणका लागि बैशाख ९ देखि १२ गतेसम्म ३ लाख ३५ हजार कित्ता प्राथमिक सेयर निश्कासन गरेको थियो । जसमध्ये ५ हजार १७५ कित्ता कर्मचारी र १६ हजार ७५० कित्ता सामूहिक लगानी कोषलार्ई सुरक्षित गरी सर्वसाधारणका लागि ३ लाख १३ हजार ८० कित्ता शेयर बाँडफाँड गरिएको थियो ।

गणपति माइक्रोफाइनान्सको आइपिओ ३१ हजार ३०८ जनाले १० कित्ताको दरले पाएका थिए । साधारण शेयर निष्काशन गरी बाँडफाँड गरेपश्चात संस्थाको चुक्तापूँजी १० करोड ३५ लाख पुगेको छ ।

तनहुँको दुलेगौढामा केन्द्रीय कार्यालय रहेको संस्थाका २० वटा शाखा कार्यालय संचालनमा छन् ।