‘जनतालाई लाभ दिन पूँजी बजार सुदृढ हुनु आवश्यक’

0
Shares

प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले जनताले प्रत्यक्ष लाभ लिन नेपालको पूँजी बजार सुदृढ हुनुपर्ने बताउनभएको छ ।

नेपाल धितोपत्र बोर्ड काठमाडौँद्वारा आज यहाँ प्रदेश १ का सञ्चारकर्मीका लागि आयोजित आर्थिक तथा धितोपत्र बजारसम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा उनले सार्वजनिक खरीद ऐन संशोधनबाट राष्ट्रको ढुकटीमा रहेको रकम बजारमा आउने र बैंंकमा रहेको तरलताको समस्या समाधान भई पूँजी बजार सुदृढ हुने बताए।

मन्त्री आङ्बोले बैंकले निक्षेपमा दिने ब्याज वृद्धिका कारण शेयर लगानीमा समस्या उत्पन्न भएको र शेयर बजारमा विश्वसनीय वातावरण सिर्जना गरेमा लगानी वृद्धि हुने विश्वास व्यक्त गरे । वर्तमान सरकार प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनमा जुटेको मन्त्री आङ्बोको भनाइ थियो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आर्थिक मामिला तथा तथा योजना मन्त्रालयका सल्लाहकार प्रा डा. प्रमोदकुमार झा, मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलगायतले पूँजी बजारबारे सही सूचना जनतामाझ सम्प्रेषण भएमा जनताको लगानी शेयरमा भई पूँजी बजार दह्रो हुने बताए।

उनले नेपालको अर्थतन्त्रबारे सामान्य जानकारी र धितोपत्र बजारसँगको सम्बन्ध तथा आर्थिक पत्रकार लोकबहादुर चापागाँईले धितोपत्र बजार र समाचार सम्प्रेषण विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।