बजार पूँजीकरण र कारोबार रकम घट्दो क्रममा

0
Shares

शेयर बजारका लगानीकर्तामा बजेट पछिका दिनमा पूँजी बजारमा आकर्षित हुन छाडेपछि पछिल्लो समय नेप्सेसँगै धेरै कम्पनीहरुको शेयरमूल्यमा गिरावट आउने क्रम जारी छ।  एक दिन नेप्से बढेर दुई दिन घट्दा एकातिर लगानीकर्तामा उत्साह जाग्न सकेको छैन भने अर्कोतिर नेप्से घट्ने क्रमसँगै बजार पूँजीकरण र कारोबार रकम घट्न थालेको छ ।

बजेटको साता अर्थात जेठ १६ गते १६ खर्ब ३९ अर्ब ५५ करोड कूल बजार पूँजीकरण रहेकोमा असार २ गते आइपुग्दा ७१ अर्बले घटेर १५ खर्ब ६८ अर्ब ५५ करोडमा समेटिएको छ । नेप्सेका अनुसार गत साता मात्रै कूल बजार पूँजीकरण अघिल्लो साताको तुलनामा १७ अर्ब ४ करोडले घटेको थियो।

यस्तै दैनिक औसत कारोबार रकम पनि घट्दो क्रममा रहेको छ । बजेटको साता नेप्सेमा दैनिक औसत ८६ करोड ६३ करोड कारोबार हुने गरेकोमा गत साता औसत कारोबार रकम ५१ करोड २६ लाखमा झरेको छ । यसै साताको आइतार ४७ करोडको शेयर कारोबार भएको स्टक एक्सचेञ्जमा असार २ गते सोमबार कारोबार रकम ४० करोडमा झरेको छ । कारोबार रकममा आएको निरन्तर गिरावटले ठूला कारोबारीलाई घटाएर सस्तोमा शेयर उठाउने अवसर सिर्जना भएको छ भने आम लगानीकर्तामा निराशा पैदा भएको छ । बजेट पश्चात ८ कारोबार दिनमा नेप्से ६१.४२ अंकले घटेको छ भने बजेटको दिन जेठ १५ सहित चार कारोबार दिनमा जम्मा १६.७७ अंकले मात्र बढेको छ।

सोमबार नेप्से परिसूचक २.६३ अंकले बढेर १२६०.९० बिन्दुमा झरेको छ। सोमबार साना कम्पनीहरुको शेयरमूल्यमा उतार चढाव देखिएको छ। चुक्ता पूँजी कम भएका कम्पनीहरु नै सोमबारको बजारमा कमाउने र गुमाउने सूचीमा अग्रस्थानमा देखिए।

सोमबार अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ६.७३ प्रतिशतले बढ्यो भने गोर्खाज फाइनान्सको पनि ५ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ। त्यस्तै नेपाल एग्रो लघुवित्त, ङादी ग्रुप पावर, रैराङ्ग हाईड्रोपावर र सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमको इकाइमूल्य पनि साढे ४ प्रतिशतले बढेको छ। यसदिन उच्च शेयरमूल्य बढ्ने १० कम्पनीमा ५ वटा हाइड्रोपावर छन् ।

त्यस्तै सोमबारको बजारमा उच्च शेयरमूल्य घट्ने कम्पनीहरुमा ग्लोबल आइएमई लघुवित्त शिर्ष स्थानमा रहेको छ। लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.८० प्रतिशतले घट्यो भने युनियन हाइड्रोपावर, गुडविल फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य पनि ४ प्रतिशतभन्दा धेरैले घटेको छ।

सोमबार नेपाल बैंकको उच्च कारोबार हुँदा समग्र कारोबार रकम भने आइतबारको तुलनामा ७ करोडले घटेर ४० करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ । नेपाल बैंकको सबैभन्दा धेरै ३ करोड २९ लाख, शिवम् सिमेन्टसको ३ करोड २२ लाख, प्रभु बैंक २ करोड ३१ लाख, सिद्धार्थ, कृषि विकास, एनआईसी एशिया बैंकर अपर तामाकोशीको एक करोड बढीको शेयर कारोबार भयो। सोमबार उच्च कारोबार गर्ने १० कम्पनीमा ८ वटा वाणिज्य बैंक रहेका छन्।

सोमबार कारोबारमा आएका ११ उपसमुहको सूचकमध्ये ८ वटा सूचक सकारात्मक देखिए। जीवन बीमा, लघुवित्त र विकास बैंक गरि ३ वटा नकारात्मक बन्यो। यस दिन उत्पादन तथा प्रशोधन सबैभन्दा धेरै १.०५ प्रतिशतले बढ्यो भने जीवन बीमा समूह सबैभन्दा बढि ०.३१ प्रतिशतले घट्यो।

धितोपत्र बोर्डले सोमबार मात्रै दशवटा बैंकलाई ब्रोकर लाइसेन्स दिने मार्ग प्रशस्त गरेकाले आगामी दिनमा बजारले थप गति लिने अपेक्षा लगानीकर्तामा छ । धितोपत्र बोर्डले मंगलबार आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। पूँजी बजारको विकास तथा विस्तार र दायरा फराकिलो पार्ने नीति र सो अनुसारको कार्यक्रम बोर्डले ल्याएको खण्डमा भने अवस्था अर्के हुनेछ ।