पूँजीगत लाभकर गणनाको विवाद मिलाउने जिम्मा नेप्सेलाई, अर्थमन्त्रालयले दियो निर्देशन

0
Shares

पूँजीगत लाभकर गणनाको विवाद समाधान गर्ने जिम्मेवारी नेप्सेले पाएको छ । आइतबार अर्थमन्त्रालयले केहि दिनमै यो समस्या समाधान गर्न नेप्सेलाई निर्देशन दिएको हो ।

राजस्व सचिव लाल शंकर घिमिरेले नेपाल स्टक एक्सचेन्जलाई पूँजीगत लाभकरको विवाद दुई दिनमै सल्टाउन निर्देशन दिएका हुन्। आइतबार लाभकर गणनाको बिषयमा छलफल गर्न अर्थमन्त्रालय पुगेका लगानीकर्तासंगको भेटपछि सचिव घिमिरेले सो निर्देशन दिएको सहभागि एक लगानीकर्ताले नोटबजारलाई बताए ।

घिमिरेले नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेलाई टेलिफोनगरी केहि दिनमै यो समस्या समाधान गर्न निर्देशन दिएका हुन् । भारित औसत लागतका आधारमा पूँजीगत लाभकर गणना गर्दाका अव्यवहारिक विधी र प्रक्रिया हटाएर यसलाई प्रविधिमैत्री बनाउन समेत अर्थमन्त्रालयले नेप्सेको ध्यानकर्षण गराएको छ ।

राजस्व सचिव लालशंकर घिमिरेले पूँजीगत लाभकर गणना विधिमा देखिएको समस्या समाधान गर्न लगानीकर्तालाई छलफलमा बोलाएका थिए । छलफलकै क्रममा सचिव घिमिरेले यो समस्याको समाधान गर्ने जिम्मा नेप्सेलाई दिएका हुन् ।

आइतबार नै शेयर बजारका लगानीकर्ता र ब्रोकरहरुले शेयर कारोबारको पूँजीगत लाभकर गणनामा कागजी प्रक्रिया नहटेसम्म शेयर कारोबारको राफसाफ नगर्ने सहमति गरेका छन् ।