राष्ट्र बैंकको अनुमतिपछि मात्र वाणिज्य बैंकहरुले सिईओ नियुक्ती गर्न पाउने

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवि नेपालले राष्ट्र बैंकको अनुमति बीना वाणिज्य बैंकहरुले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न नसक्ने व्यवस्था लागू गर्न लागिएको खुलासा गरेका छन् ।

मंगलबार सार्वजनिक लेखासमितिको बैठकमा बोल्दै गभर्नर नेपालले हाल बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालक समितिले सिईओ नियुक्त गर्दै आएकोमा अब केन्द्रीय बैंकले नियुक्ति गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार अब बैंकको संचालक समिति बैठकले सिइओ सिफारिस गर्नुअघि राष्ट्र बैंकले स्वीकृति दिनुपर्छ। राष्ट्र बैंकले स्वीकृत नदिएमा पुनः अर्को नाम सिफारिस गर्नुपर्दछ। 

बैंक तथा वित्तीय स्वच्छताका लागि पनि सिइओको छनौंटमा हस्तक्षेप गर्न लागिएको गभर्नरको भनाई थियो । 

‘संसारका धेरै देशमा सीईओ हुन केन्द्रिय बैंकबाट अनुमोदित हुने प्रचलन छ, हामीले पनि त्यस्तै व्यवस्था गर्न लागेको हौ ।’ गभर्नर नेपालले भने ।

बैठकमा सांसदहरुले बैंकिङ कसुर लागेकाहरुलाई पनि बैंकको सिईओ बनाउँदा पनि नियमन गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकको चर्को आलोचना गरेका थिए। सांसद हृदयश त्रिपाठीले बैंकिङ कसुर लागेकाहरुलाई पनि बैंकले सिईओ नियुक्ती गर्दा पनि कार्वाही गर्न नसकेकोभन्दै नेपाल राष्ट्र बैंकको आलोचना गरेका थिए।