हुन्डी कारोबारको अभियोगमा काठमाडौँ भ्यूटावरका सञ्चालकसहित चार जना बिरुद्ध मुद्दा

0
Shares

राजश्व अनुसन्धान विभागले बुधबार हुन्डी कारोबार गरेको अभियोगमा चार जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

विभागले ४ करोड ६० लाख ४२ हजार ८ सय रुपैयाँ विगो दावी गर्दै मुद्दा दर्ता गरेको हो । विगोको तीन गुणा सजाय र तीन बर्ष कैदको माग गरिएको छ ।

निशा गुरुङ र काठमाडौं भ्युटावर निर्माण गर्ने जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स प्रालिका सञ्चालक मनोजकुमार भेटवालसमेत चार जना बिरुद्ध मुद्दा दर्ता गरेको विभागले जनाएको छ ।

विभागद्वारा प्रकाशित विज्ञप्तीमा गुरुङले सिङ्गापुरका आफन्त तथा साथीभाइसँग भ्युटावर निर्माण गर्न भनेर पैसा उठाएको उल्लेख छ ।

‘गुरुङले बैंकिङ प्रणालीभन्दा बाहिरबाट पैसा राजकुमार बिष्ट र उनका भाइ शिव बिष्टको सहयोगमा भ्युटावरका सञ्चालक भेटवालसँग मिलेर अन्य ब्यक्तिलाई वितरण गरेको भेटिएको छ’–विभागले जनाएको छ ।

सिङ्गापुरमा बस्ने निशा गुरुङ र काठमाडौँ भ्यूटावर निर्माण गर्ने जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स प्रालिका सञ्चालक मनोजकुमार भेटवालसमेत गरी चारजना विरुद्ध करोडौँको विदेशी विनिमय अपचलन गरेको आरोपसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए।

प्रतिवादी मध्येकी निशा गुरुङले सिङ्गापुरमा रहेका साथी र अन्य व्यक्तिसँग काठमाडौँमा भ्यूटावर निर्माणमा लगानी गर्ने भनी रकम सङ्कलन गरी बैंकिङ्ग प्रक्रियाभन्दा बाहिरबाट राष्ट्र बैंकको अनुमति नलिइ हुण्डिमर्फत रकम ल्याएको अनुसन्धानबाट खुलेको उनले बताए ।

प्रतिवादीमध्येका राजकुमार विष्ट र उनका भाइ शिवको सहयोगमा उक्त कम्पनीका सञ्चालक भेटवालसँग मिलेमतो गरी रकम प्रयोग र वितरण गरेको आरोप उनीहरुमाथि छ ।

अनुसन्धानमा रकम बरामद भएका व्यक्ति राजकुमार गुरुङ अभिताव मल्टी प्रपोज प्रालिका कर्मचारी भएको खुल्न आएको छ । उनीहरुले उक्त कम्पनीबाट कुनैपनि कारोबार नभएको भनी आन्तरिक राजश्व कार्यालयमा शून्य विवरण पेश गरेको देखिए पनि उक्त कम्पनीले बारम्बार ठूलो रकम राख्ने र निकाल्ने गरेकोसमेत खुल्न आएको जनाइएको छ ।

उनीहरुले कारोवार गरेको रकम के वापतको हो भनी स्पष्ट पार्न नसकेकाले विदेशी विनिमय (नियमित गर्ने) ऐन र विप्रेषण नियमावली २०६५ विपरीतकार्य गरेको विभागले ठहर गरेको छ । उनीहरुबाट नगद रु २६ लाख १५ हजार र रु ३४ लाखको तीन थान चेक तथा सिङ्गापुरबाट गैरकानूनी रुपमा भित्र्याइएको रकम, विभिन्न स्थानबाट बरामद १०४ थान भौचरमा उल्लेखित रकम रु चार करोड २७ हजारको रु चार करोड ६० लाख बिगो कायम गरी मुद्दा दर्ता गरिएको महानिर्देशक मैनालीले जानकारी दिए ।

विभागले राजकुमार विष्ट, शिव विष्ट, मनोज भेटवाल र निशा गुरुङलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन बमोजिम विगोको तीन गुणा रकम असूल गरी ऐन बमोजिम तीन वर्ष कैद सजाय माग गरेको छ ।

 

प्रकाशित मिति: १५ साउन २०७६, बुधबार  २१ : ५८ बजे