एभरेष्ट बैंकको खुद नाफा ३ अर्ब चार करोड, २६ प्रतिशत लाभांश बाँड्न सक्ने

0
Shares

एभरेष्ट बैंकले गत आर्थिक वर्षमा ३ अर्ब चार करोड खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै १८ प्रतिशत बढी हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ५८ करोड खुद नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा २ अर्ब १८ करोड रुपैयाँ छ । यस आधारमा बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना शेयरधनीहरुलाई २६ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ ।

बैंकका अधिकांस सूचकहरु बढेका छन । तर, पूँजी कोष संकुचन, कोषको लागत कर्मचारी र सञ्चालन खर्च भने बढेको छ । आठ अर्ब दश करोड चुक्ता पूँजी भएको बैंकले साधारण जगेडा, पूँजीगत जगेडा लगायतमा गरेर ९ अर्ब ५२ करोड जगेडाकोषमा राखेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप १२ प्रतिशत, कर्जा १६ प्रतिशत र खुद ब्याज आम्दानी पनि करिब १६ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्म बैंकले एक खर्ब २९ अर्ब निक्षेप संकलन गरेर एक खर्ब चार अर्ब कर्जा परिचालन गरेको छ । जसबाट बैंकले ५ अर्ब ६३ करोड खुद ब्याज आम्दानी गरेको छ ।

अघिल्लो वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश वितरण गरेको बैंकको पूँजी स्थिर रहँदा प्रतिशेयर आम्दानी बढेको छ । बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ८५ पैसाबाट ३७ रुपैयाँ ५७ पैसा पुगेको छ ।

बैंकको आधार ब्याजदर ८.१२ प्रतिशत तथा कोषको लागत ६.२१ प्रतिशत छ । बैंकको आधारदर घटेको हो भने लागत बढेको छ । समीक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात घटाएको छ । ०.२० प्रतिशत रहेको खराब कर्जा ०.१६ प्रतिशतमा झरेको छ ।

बैंकको सिसिडी अनुपात ७५.०७ प्रतिशत, पूँजीकोष १३.७५ प्रतिशत छ । यस्तै, प्रतिशेयर नेटवर्थ २१७ रुपैयाँ ५२ पैसा र मूल्य आम्दानी अनुपात १७.७२ गुणा रहेको छ।