नेपाल बैंकको खुद नाफा घटेर २६१ करोडमा सिमित, वितरण योग्य रकम ३४५ करोड

0
Shares

नेपाल बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ । पूँजी बढाएर व्यवसाय बढाँउदा समेत बैंकको नाफा १८.७७ प्रतिशतले घट्न पुगेको छ ।

बैंकले गत आर्थिक वर्षको असार मसान्त सम्ममा २ अर्ब ६१ करोड १९ लाख खुद नाफा गरेको छ । अघिल्लो वर्ष यसै अवधिमा बैंकले ३ अर्ब २१ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकको नाफा ६० करोड ३७ लाख रुपैयाँले घटेको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८.७७ प्रतिशतले कम हो ।

बैंकको निक्षेप लागत र ब्याजखर्च बढेको छ । यता ब्याज आम्दानीमा कमी आउँदा नाफा घटेको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट आएपनि नोक्सानमा रहेको बैंकको रिटेन अर्निगं यस वर्ष ३ अर्ब धनात्मक भएको छ ।

बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ४५ करोड रहेको छ । रिटेन अर्निग बढेपछि खुद नाफा भन्दा बढी रकम लाभांश बाड्न सक्ने अवस्थामा बैंक रहेको छ ।

बैंकको चुक्ता पूँजी २१.९८ प्रतिशतले बढेर ९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । वित्तीय विवरण अनुसार बैंकसँग तीन अर्ब २६ करोड शेयर प्रिमियम, ३ अर्ब १ करोड रिटेर्न अर्निङ्ग र १३ अर्ब ३४ करोड जगेडा कोष गरि कूल २९ अर्ब ४३ करोडको कोष रहेको उल्लेख गरेको छ ।

बैंकले यस अवधिमा निक्षेप संकलन १७ प्रतिशतले बढाएर एक खर्ब १७ अर्ब २० करोड पुर्याएको छ । बैंकले यस अवधिमा कर्जा लगानीमा २२.३१ प्रतिशतले बढाएर ९२ अर्ब ४१ करोड पुर्याएको छ । लागत बढ्दा बैंकको खुद ब्याज आम्दानीमा गिरावट देखिएको छ । यस अवधिमा बैंकले ६ अर्ब १७ करोड खुद ब्याज आम्दानी गरेको छ ।

नेपाल बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८३ पैसाले घटेर २७ रुपैयाँ १५ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ ३०० रुपैयाँ ५ पैसा पुगेको छ । निष्कृय कर्जा अनुपात २.५८ प्रतिशत, आधार ब्याजदर ७.९८, कोषको लागत ५.५० प्रतिशत छ ।