स्वावलम्बन लघुवित्तको जगेडाकोष एक अर्ब माथि, २३ प्रतिशतले बढायो खुद नाफा

0
Shares

स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्षमा ४२ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा ७ करोड ९५ लाख अर्थात २३ प्रतिशतले धेरै हो।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३४ करोड ३० लाख रुपैयाँ खदु नाफा कमाएको थियो। खुद ब्याज आम्दानीसँगै अन्य सञ्चालन आम्दानीमा बढोत्तरी हुँदा लघुवित्तको नाफा सुधार भएको छ ।

नाफा बढ्दा प्रतिशेयर आम्दानीमा पनि सुधार आएको छ । अघिल्लो वर्ष ५४ रुपैयाँ ५५ पैसा रहेको लघुवित्तको इपिएस ६७ रुपैयाँ १९ पैसा कायम भएको छ । चुक्ता पूँजी ६२ करोड ८८ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा एक अर्ब १२ करोड जम्मा भएको छ । जगेडाकोषमा ६० प्रतिशतको बढोत्तरी आएको छ ।

गत असार मसान्तसम्ममा ७ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ५ अर्ब ८० करोड बैंक तथा वित्तिय संस्था मार्फत ऋण गरेर १४ अर्ब ४० करोड कर्जा परिचालन गरेको छ। समिक्षा अवधिमा २३ प्रतिशतले खुद ब्याज आम्दानी बढाएको लघुवित्तले एक अर्ब बढी खुद ब्याज आम्दानी गरेको छ ।

लघुवित्को प्रतिशेयर नेटवर्थ २७८ रुपैयाँ ८९ पैसा, मूल्य आम्दानी अनुपात १३.०२ गुणा र निष्कृय कर्जा अनुपात ०.७७ प्रतिशत छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको नेटवर्थमा सुधार आएको छ भने खराब कर्जा समेत घटेको छ ।