शेयरको पूँजीगत लाभकर तीन दिनभित्र टुंग्याउन धितोपत्र बोर्डलाई अर्थको निर्देशन

0
Shares

दोस्रो बजारमा शेयर कारोबारको पूँजीगत लाभकर गणनामा देखिएको समस्या तीन दिनभित्र समाधान गर्न अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार पत्र काटेर बोर्डलाई उक्त निर्देशन दिएको हो ।

अर्थन्त्रालयले सरोकारवालासँग छलफल गरी तीन दिनभित्र समस्या समाधान गर्न धितोपत्र बोर्डलाई लिखित निर्देशन दिएको हो । यस अघि दिएको मौखिक निर्देशन पालना नभएपछि अर्थले लिखित निर्देशन दिएको हो।

लाभकर गणनाका लागि भारित औसत मूल्य तोक्ने कानुनी अधिकार नभएको भन्दै धितोपत्र बोर्ड पन्छिदैँ आएको छ । लाभकर गणनाका लागि निर्णय गर्ने अधिकार आफुसँग नभएको बोर्डले बताउँदै आएको छ ।

अर्थको निर्देशन पछि धितोपत्र बोर्डले यस बिषयमा छलफल गर्न विहीबार सञ्चालक समितिको बैठक राखेको छ । अर्थको निर्देशनपछि बोर्डलाई विवाद समाधानका लागि अन्तिम निर्णय गर्न बाटो खुलेको बताइएको छ ।

पूँजीगत लाभकरको विवाद नमिल्दा शेयर बजार निरन्तर ओरालो लागेको छ । सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत साउन १ गतेदेखि पूँजीगत लाभकर गणना विधि परिमार्जन गरेको थियो । नयाँ व्यवस्थाअनुसार लगानीकर्ताले लाभ गणना गर्दा आफ्नो शेयरको आधार मूल्य घोषणा गर्नुपर्छ । जसको लगानीकर्ताले विरोध गर्दै आएका छन् ।