ब्रोकर मार्फत मार्जिन कारोबार शीघ्र सञ्चालन गर्न धितोपत्र बोर्डको निर्देशन

0
Shares

नेपाल धितोपत्र बोर्डले शेयर दलाल व्यवसायी मार्फत मार्जिन कारोबार सुविधा शीघ्र रुपमा सञ्चालन गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको छ ।

बोर्डले ब्रोकर मार्फत मार्जिन कारोबार सुविधा प्रदान गर्न आवश्यक सबै किसिमका प्रबन्ध र पूर्वाधारहरु पुरा भईसकेको अवस्थामा यस अघि जारी गरेका निर्देशनहरुको समेत अवगत गराउँदै मार्जिन कारोबार सुविधा तुरुन्त संचालन गर्न नेप्सेलाई निर्देशन दिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए ।

नेप्सेले बोर्डले मागे अनुसार पूँजीबजार सुधारका प्रगति विवरण सार्वजनिक गरेकै दिन बोर्डले नेप्सेलाई मार्जिन कारोबार सुविधा शीघ्र संचालन गर्न निर्देशन दिएको छ । मार्जिन कारोबार सुविधा कार्यान्वयनमा नेप्सेले ढिलाई गरिरहेको आशयसहित बोर्डको निर्देशन आएको हो ।

बोर्डले दोस्रो बजारमा तरलता अभिवृद्धि तथा धितोपत्र व्यवसायीको दायरा विस्तार गर्ने क्रममा २०७४ कात्तिक २० गते मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४ जारी गरेको थियो । सो निर्देशनमा व्यवस्था गरिएका कार्य्विधिलाई आवश्यक परिमार्जन गरी कार्यान्यवन गर्न बोर्डले नेप्सेलाई २०७५ जेठ ४ गते निर्देशन दिएको थियो ।

त्यस्तै मार्जिन कारोबार सम्बन्धी सुविधामा धितोपत्र दलालले ग्राहकलाई उपलब्ध गराउने ऋणको ब्याजदर तथा अनुगमन सम्बन्धी बोर्डले २०७५ माघ १२ गते बैठक बसी दलाल व्यवसायी र ग्राहकहरुको सम्झौताअनुसार राष्ट्र बैंकमा २०७५ माघ १७ गते नेपाल राष्ट्र बैंकमा जानकारी समेत गराई सकेको थियो ।

मार्जिन कारोबारको राफसाफ सम्बन्धी व्यवस्था गर्न छुट्टै हितग्राही खाता आवश्यक पर्ने र सो सम्बन्धी विनियमावली नै संसोधन गरी स्वीकृति प्रदान गरिसकिएको समेत पनि गिरीले बताए ।

सिडिएससीले पनि मार्जिन कारोबार राफसाफ सम्बन्धमा धितोपत्र केन्द्रिय निक्षेप सेवा विनियमावली २०७६ को पाँचौ संशोधन गरि मार्जिन कर्जाका लागि छुट्टै हितग्राही खाता खोल्ने व्यवस्था गरिसकेको छ । ब्रोकरहरुले लामो समयदेखि मार्जिन कारोबारका लागि लगानीकर्ताहरुको छुट्टै हितग्राही खाता हुनु पर्ने माग गर्दै आएका थिए।

मार्जिन कारोबारको सम्पूर्ण प्रक्रियाहरु पूरा हालसम्म राष्ट्र बैंकबाट २१ वटा धितोपत्र दलाल व्यवसायीहरुले मार्जिन कारोबारको लागि स्वीकृति पाइसकेका छन् । तर, नेप्सेले मार्जिन कारोबार सुचारु गर्न दलाल व्यवसायीहरुलाई लाइसेन्स वितरण गरेको छैन ।

मार्जिन सुविधा प्रदान गर्ने ब्रोकरहरुको न्युनतम नेटवर्थ ५ करोड रुपैयाँ हुनु पर्ने व्यवस्था गरिएको छ। नियम अनुसार ब्रोकरहरुले नेटवर्थको दुई गुणासम्म मार्जिन सुविधा प्रदान गर्न सक्छन्। यस आधारमा अहिले अनुमति पाएका ब्रोकरहरुले कम्तिमा पनि दुई अर्ब १० करोड रुपैयाँको मार्जिन सुविधा प्रदान गर्न सक्ने छन्।

मार्जिन कारोबार सुविधाको सुरुवातले लगानीकर्ताको हित हुने, दोश्रो बजारको सुधार हुने तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तारका लागि समेत यो सुविधा शीघ्र कार्यान्वयन हुनुपर्नेमा बोर्डले जोड दिएको छ ।