कर्जा लगानी योग्य रकम अभावको समस्या बल्झदै, बैंकरहरु चिन्तित

0
Shares

सुरेन्द्र थापा।

चालु आर्थिक बर्षको पहिलो त्रैमास पुरा नहुँदै बैंकिङ प्रणालीमा कर्जा लगानी योग्य रकमको अभाव हुन थालेको छ । सरकारी ढुकुटीमा पैसा थुप्रिएपछि बैंकहरुको कर्जा लगानी क्षमता कसिलो भएको हो।

बैंकहरुले चालु आर्थिक वर्षको पहिलो २ महिनाको अवधिमा ५२ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । यो अवधिमा बैंकहरुको निक्षेप भने १३ अर्व रुपैयाँले घटेको छ । पहिलो दुई महिनमै बैंकहरु कर्जा विस्तारमा आक्रमक देखिनु र निक्षेप घट्नुले बर्षभरी कर्जा लगानी योग्य रकमको अभाव हुने संकेत देखिन्छ ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले धेरैजसो बैंकमा कर्जा लगानी योग्य रकमको अभाव बढ्न थालेको अनौपचारिक स्रोतले जानकारी दिएको बताए । ‘पछिल्लो दुई महिनामा १३ अर्ब रुपैयाँ निक्षेप घटेको छ, यसमा हामीहरु पनि चिन्तित छौ ।’ उनले भने, ‘निक्षेप घट्नुमा सरकारी ढुकुटीमा पैसा जम्मा हुनु, मुद्रा परिचालन कम हुनु, भुक्तानी सन्तुलनको अवस्थाले महत्वपूर्ण भुमिका खेल्छ।’

आयातमा आधारित हाम्रो अर्थतन्त्रमा सानो देखि ठूलो कर्जाको माग अधिक भएको उनले बताए। चाडपर्वको व्यापारका लागि साना देखि ठूला व्यापरी तथा उद्यमीले कर्जाको माग गरेका छन् भने निक्षेप कर्ताले पनि निक्षेप झिक्ने क्रम बढेकाले पनि कर्जा निक्षेपको असन्तुलन बढ्दै गएको उनले बताए ।

गत आर्थिक वर्षको अन्तिम महिना अर्थात असारमा बैंकहरुले ११९ अर्ब रुपैयाँ निक्षेप थपेका थिए । तर, सो अवधिमा बैंकहरुले ३० अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका थिए ।  गत आर्थिक वर्षको अन्त्यतिर बैंकहरुले कर्जामा नियन्त्रण गरेका थिए । तर, सरकारी खर्च आर्थिक वर्षको अन्त्यमा हुने परम्पराले गर्दा बैंकहरुमा निक्षेप भनेको थपिएको थियो ।

गत आर्थिक वर्षको सरकारी खर्चका कारण थपिएको निक्षेप चालु आर्थिकको वर्षको पहिलो त्रैमासमा नै कर्जा प्रवाह हुने देखिएको छ । बैंकहरुले चालु आर्थिक वर्षको साउन र भदौमा मात्र ५२ अर्व रुपैयाँ कर्जा लगानी गरीसकेको अवस्था छ । सो अवधिमा बैंकहरुवाट १३ अर्ब रुपैयाँ निक्षेप झिकिएको छ ।

बैंकहरुले आर्थिक वर्षको सुरु भएको पहिलो त्रैमासमा वर्ष भरीको ब्याज आम्दानी गर्ने भएकाले पनि लगानी सकभर धेरै नै गर्न खोज्ने गरेको एक बैंकरले बताए । तर, बैंकहरुले पहिलो त्रैमासमा आक्रमक भएर नाफाका लागि कर्जा लगानी गर्दा आर्थिक वर्षको बाँकी समय कर्जा लगानी योग्य रकम अभाव भनेर निक्षेपको खोजि गर्दै विताउने परम्पराको विकास गर्नु राम्रो संकेत नभएको ति बैंकरको भनाइ छ ।

चालु आर्थिक वर्षको दोस्रो महनिा सकिदा बैंकहरुले कुल २८ खर्ब ६५ अर्ब निक्षेप संकलन गरेका छन । सो अवधिसम्ममा बैंकहरुले २५ खर्ब ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन ।

रेमिट्यान्स र सरकारी खर्चमा भर परेको वित्तीय प्रणालीमा चालु आर्थिक वर्षमा कर्जा लगानी योग्य रकमको अभाव देखिने निश्चित भएको छ । सरकारले चालु आर्थिक वर्षको २ महिनामा करिब ३.८७ प्रतिशत मात्र खर्च गरेको छ । यो तथ्यांकलाइ आधार मान्दा चालु आर्थिक वर्षमा पनि सरकारी खर्चका लागि आर्थिक वर्षको समाम्तीलाइ नै पर्खनु पर्ने देखिन्छ । यसले बैंकहरुको निक्षेपको प्रमूख स्रोत मानिएको सरकारी खर्च ढिला हुने भएपछि बैंकहरुलाइ कर्जा लगानी योग्य रकमको अभाव हुने स्पष्ट छ ।

बैंकमा नयाँ निक्षेप नआउने र कर्जा विस्तार जारी रहेको खण्डमा पुँजी, कर्जा तथा निक्षेप(सिसिडि) अनुपात कसीलो अवस्था पुग्छ । नयाँ निक्षेप नल्याउदा सम्म बैकहरुले लगानी गर्न नसक्ने अवस्था बन्छ । विगतका समस्यालाइ मध्यनजर गरेर केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति स्रोत वढाउनेमा केन्द्रित भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुने र समस्याको समाधान आउने आशामा बैंकहरु देखिदैनन।