शिवश्री हाइड्रोको साढे ३३ करोडको आईपीओ आउने

0
Shares

शिवश्री हाइड्रोपावर लिमिटेडले साढे ३३ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । धितोपत्र बोर्डले कम्पनीलाई ३३ लाख ५१ हजार १४० कित्ता आईपीओ निष्कासनको अनुमति दिएको छ ।  

कम्पनीले चुक्तापुँजीको २२.६९ प्रतिशत हुन आउने ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । यस अघि कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गर्दा बिक्री नभएको शेयर समेत गरेर उक्त परिमाणको शेयर जारी गर्नेछ ।

कम्पनीले यसअघि स्थानीयलाई १४ लाख ७६ हजार ४०० कित्ता आइपीओ निष्कासन गरेकोमा ३ लाख ३९ हजार ८३० कित्ता सेयर मात्र बिकेको थियो । स्थानीयले नकिनेको ११ लाख ३६ हजार ५४० कित्ता शेयर समेत सर्वसाधारणलाई बिक्री हुनेछ ।

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

शिवश्रीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावटको उपर चाकु “ए” जालविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौंमा रहेको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड ७३ लाख रुपैयाँ छ ।