अन्तर बैंक ब्याजदर ५ प्रतिशत माथि पुगेपछि राष्ट्र बैंकले १५ अर्ब बजारमा पठाउँदै

0
Shares

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा १५ अर्ब रुपैयाँ प्रवाह गर्ने भएको छ। अन्तर बैंक कारोबारको ब्याजदर ५ प्रतिशत माथि पुगेपछि राष्ट्र बैंकले रिपोमार्फत बैंकिङ प्रणालीमा १५ अर्ब रुपैयाँ तरलता प्रवाह गर्न लागेको हो ।

बैंकहरुले निक्षेप संकलनको तुलनामा उच्च दरले ऋण लगानी गरेका कारण तरलता अभाव देखिएको हो। अन्तर बैंक सापटी माथि पुगेको र स्थायी तरलता सुविधाको प्रयोग बढेका कारण राष्ट्र बैंकले एक हप्ताका लागि पैसा पठाउन लागेको हो।

बैंकिङ्ग प्रणलीमा तरलता समस्या देखिन थालेपछि राष्ट्र बैंकले तरलता सहज गर्न बिहीबार १५ अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्न लागेको हो। केन्द्रीय बैंकले जारी गर्न लागेको ७ दिन अवधिको उक्त रिपोमा “क” वर्गका वाणिज्य बैंक, “ख” वर्गका विकास बैंक र “ग” वर्गका फाइनान्स कम्पनीहरुले आवेदन गर्न सक्नेछन्।

राष्ट्र बैंकको रिपोमा बैंक तथा वित्तीय संस्थाहरुले ४.५ प्रतिशतभन्दा बढि ब्याजदर अंकित गरी आवेदन गर्न सक्नेछन्। ४.५ प्रतिशत भन्दा कम ब्याजदर अंकित गरी गरिएको आवेदन रद्ध हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको उक्त रिपो असोज २३ गते परिपक्क हुनेछ। रिपो बिहीबार नै अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । रिपोको ब्याजदर पाँच प्रतिशत तोकिएको छ ।