शाइन रेसुङ्गा राष्ट्रियस्तरमा उक्लिने, पूर्णिमा र भार्गव गाभेर एकीकृत कारोबार सुरु

0
Shares

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक राष्ट्रियस्तरको विकास बैंकमा स्तोरोन्नती हुने भएको छ । पूर्णिमा र भार्गव विकास बैंकलाई गाभेपछि बैंकको चुक्ता पूँजी साढे दुई अर्ब नाघेको छ ।

रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकसँग सिद्धार्थनगर स्थित पूर्णिमा विकास बैंक र नेपालगञ्ज स्थित भार्गव विकास बैंक गाभिएका हुने । सोमबार देखि तीन विकास बैंकले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नामबाट एकीकृत कारोबार थालेका छन् ।

१० जिल्ला कार्यक्षेत्र रहेको शाइन रेसुङ्गासँग ३ जिल्ला कार्यक्षेत्रको पूर्णिमा र ५ जिल्ला कार्यक्षेत्रको भार्गव विकास बैंक गाभिएका हुन्। गाभिएपछि बैंकको शाखा सञ्जाल ७१ पुगेको छ।

एकीकृत कारोबार संगै बैंकले ६ सदस्यीय संचालक समिति पनि सार्वजनिक गरेको छ । बैंकको अध्यक्षमा राजेन्द्र प्रसाद श्रेष्ठ रहेका छन् भने अन्य संचालकहरुमा थानेश्वर पौडेल, डा. तारा प्रसाद उपाध्याय, ई. सुरज उप्रेती, मोहन चापागाई र सुदर्शन गौतम रहेका छन् । चापागाई र गौतम सर्वसाधारण समुहबाट संचालक भएका हुन् भने अन्य संस्थापक शेयरधनी समुहबाट संचालक भएका हुन् ।

नयाँ, बैंकको चुक्ता पूँजी २ अर्व ६२ करोड, निक्षेप परिचालन २६ अर्व ८७ करोड, कर्जा लगानी २३ अर्व ८१ करोड पुगेको छ। ग्राहक संख्या ३ लाख ७७ हजार र कर्मचारी संख्या ५४५ पुगेको छ।

राष्ट्रियस्तरमा कार्यक्षेत्र विस्तार गर्ने योजना बनाएको बैंकले हाल कायम चुक्ता पूँजीको ४ः१ (२५ प्रतिशत) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ। । शाइन रेसुङ्गाको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवल उप-महानगरपालिका ६ मा रहने छ ।