घट्दो सूचकमा बैंकिङ्ग सेक्टरको कारोबार हाबी

0
Shares

तिहारपछिको पहिलो कारोबार दिनमा शेयर बजार परिसूचक नेप्से ३.१७ अंकले घटेर ११४६.१७ बिन्दुमा कायम भएको छ भने वाणिज्य बैंकको कारोबार हिस्सा उच्च देखिएको छ । कारोबार रकमका आधारमा उच्च कारोबार भएको दश कम्पनी सबै वाणिज्य बैंक रहेका छन्।

नेप्से ओरालो लागेपनि ठूला कम्पनीहरू कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने यस दिन झिनो अंक ०.०३ ले बढेको छ । बिहीबार उच्च कारोबार भएका शिर्ष दश कम्पनीको कारोबार मात्रै करिब १५ करोड रुपैयाँको देखिन्छ। यसले पनि घट्दो बजारमा लगानीकर्ता वाणिज्य बैंकको कारोबारमा केन्द्रीत भएको देखिन्छ। यद्यपी यसदिन शेयरमूल्य बढ्ने र घट्ने कम्पनीको सूचीमा भने अधिकांश साना तथा मझौला कम्पनी रहेका छन्।

बिहीबार १५५ कम्पनीको १० लाख ६० हजार १९६ कित्ता शेयर ३ हजार ६०३ पटक खरीद बिक्री हुँदा कारोबार रकम २५ करोड ४३ लाख १२ हजार रूपैयाँमा समेटिएको छ।

यस दिन म्याचिङ्ग कारोबारले प्राइम कमर्सियल बैंकको संस्थापक शेयरको उच्च कारोबार भएको छ। प्राइमको ३ लाख कित्ता संस्थापक शेयर ६ करोड ३ लाख रुपैयाँमा खरीद बिक्री भएको छ। यसैगरि मेगा २ करोड २२ लाख, प्रभु १ करोड ७१ लाख, एनआईसी एशिया १ करोड १९ लाख र सिद्धार्थ बैंकको ७३ लाख रूपैयाँ बराबरको शेयर कारोबार भयो। एनसीसी, सानिमा,सिटिजन्स, नेपाल र प्राइम कमर्सियल बैंकको साधारण शेयर उच्च कारोबार भएका छ।

यस दिन विकास बैंक, होटल, उत्पादन र अन्य उपसमूह बाहेक अन्य सबै उपसमूहका परिसूचक घटेको छ। उत्पादन उपसमूहको परिसूचक ०.५८ प्रतिशत, होटल ०.३९, अन्य ०.३९ र विकास बैंकको इन्डेक्स् ०.१३ प्रतिशत बढेको छ। उता म्युचुअल फण्डको परिसूचक २.५४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा ०.९५ प्रतिशत, जलविद्युत ०.८९ प्रतिशत, जीवन बीमा ०.५६, वित्त ०.४, लघुवित्त ०.३५ र बैंकिङ्ग इन्डेक्स् ०.३३ प्रतिशत घटेको छ।

यसदिन चालु आवको पहिलो त्रैमाससम्ममा आफ्नो मुनाफामा उच्च सुधार गरेसँगै ग्लोेबल आइएमई लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ७.७५ प्रतिशत बढेको छ। यस्तै आँखुखोला जलविद्युतको ७.५५, इन्फिनिटी लघुवित्त ४.३२, घोडीघोडा लघुवित्त ३.८६ र नेको इन्स्योरेन्सको शेयरधनीले २.४३ प्रतिशतले बिहीबारको बजारबाट मुनाफा आर्जन गरेका छन् ।

उता नबिल इक्विटी फण्डको इकाईमूल्यमा नेगेटीभ सर्किट लागेर प्रतिइकाई ७.४३ रुपैयाँमा झरेको छ । यस्तै हिमालयन पावर पार्टनर ६.०८ प्रतिशत, पञ्चकन्या माई ५.६१, अरूण भ्याली ४.८० र बेष्ट फाइनान्सका शेयरधनीले ४.२ प्रतिशतका दरले बिहीबारको बजारबाट गुमाएका छन्।

सूचीकृत कम्पनीहरुले धमाधम चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्न थालिसकेकाले विस्तारै बजारले गति लिने अपैक्षमा लगानीकर्ता रहेका छन्।