राष्ट्र बैंकले १ अर्ब ६६ करोडको ट्रेजरी बिल जारी गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले १ अर्ब ६६ करोडको ट्रेजरी बिल जारी गर्ने भएको छ।

राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले ट्रेजरी बिल बिक्री गर्न लागेको हो। सोमबार बोलकबोल बाट बिक्री हुने ट्रेजरी बिल मंगलबार जारी हुने राष्ट्र बैंकले जनाएको छ।

सरकारलाई आवश्यक रकम जुटाउन राष्ट्र बैंकले ९१ दिने अवधिको १० करोडको र एक वर्ष अवधिको १ अर्ब ५६ करोडको गरी कुल १ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो। बैंकले बिक्री गर्न लागेको ९१ दिने अवधिको ट्रेजरी बिल आगामी माग २१ गते परिपक्क हुनेछ भने ३६४ दिन अवधिको २०७७ कार्तिक १८ गते परिपक्क हुनेछ।

कुल अफर गरिएको मध्ये १५ प्रतिशतमा अप्रतिस्पर्धी बोलकबोलकर्तालाई रिजर्भ गरिएको र छुट आम्दानीमा कर लाग्ने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन विडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने छ। कार्तिक १९ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्।

यसअघि पनि यही कात्तिक ७ गते राष्ट्र बैंकले ९१ दिने १० करोडको र एक बर्ष अवधिको २ अर्बको गरी २ अर्ब १० करोडको ट्रेजरी बिक्री गरेको थियो। ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।