जनतासँग मर्जरमा जानुअघि ग्लोबल आइएमई बैंकको यस्तो देखियो प्रगति

0
Shares

जनता बैंकसँग मर्जरको प्रक्रियामा रहेको ग्लोबल आइएमई बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४०.५५ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा ७५ करोड ३१ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो गत आवको यसै अवधिको तुलनामा ४०.५५ प्रतिशतले धेरै हो। गत आवका यसै अवधिमा बैंकको मुनाफा ५३ करोड ५८ लाख ४५ हजार रहेको थियो।

बैंकको सञ्चालन नाफा तथा खुद ब्याज आम्दानी बढेपछि नाफा बढेको हो । पहिलो तीन महिनाको विवरणमा बैंकको विवरणयोग्य मुनाफा २८ करोड ११ लाख रुपैयाँ छ। यस अवधिमा बैंकको निक्षेप एक खर्ब २८ अर्ब ९९ करोड पुगेको छ भने एक खर्ब १८ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

निक्षेप संकलनभन्दा कर्जा लगानीमा आक्रमक हुँदा व्याज आम्दानी ह्वात्तै बढेको देखिन्छ। बैंकको निक्षेप संकलन ६.२४ प्रतिशतले घट्दा कर्जा विस्तार भने ८.७३ प्रतिशतले बढेको छ। बैंकले खुद ब्याज आम्दानी बाटै एक अर्ब ५६ करोड आर्जन गरेको छ ।

बैंकको चुक्ता पूँजी १० अर्ब चार करोड रुपैयाँ छ भने जगेडा कोषमा चार अर्ब एक करोड रुपैयाँ जम्मा गरेको छ। बैंकको वार्षिक प्रतिशेयर आम्दानी २८ रुपैयाँ ८७ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको इपिइस ८ रुपैयाँले बढेको हो।

साथै बैंकले खराब कर्जा अनुपात १.०५ बाट ०.८५ मा झारेको छ । बैंकको पूँजीकोष अनुापत ११.८७ प्रतिशत, प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ६४ पैसा, आधार ब्याजदर ९.४४ प्रतिशत, कोषको लागत ७.१३ प्रतिशत र स्पेडदर ४.९९ प्रतिशत रहेको देखिन्छ।