आक्रामक बैंकिङ सेवा विस्तारले तीन महिनामै एनआइसीएको नाफा अर्ब माथि, क्यापिटल रिडिम्सन रिजर्भमा मात्र १७ करोड

0
Shares

आक्रामक बैंकिङ सेवा भन्दै अन्य बाणिज्य बैंक भन्दा फरक देखिदै आएको एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ९६ लाख रुपैयाँ नाफा गरेको छ । पहिलो त्रैमासमा अर्ब भन्दा धेरै नाफा गर्ने नीजि क्षेत्रको दोस्रो बैंकको रुपमा एनआइसी एसिया हो ।

बैंकले गत आर्थिक वर्षको निष्कासन गरेको ऋणपत्र परिपक्क भएपनि फिर्ता गर्नका लागि भनेर क्यापिटल रिडिम्सन रिजर्भका लागि १७ करोड रुपैयाँ छुट्याउदा बैंकको वितारण योग्य नाफा भने ४४ करोड ८४ लाख रुपैयाँ मात्र रहेको छ । बैंकले ९ अर्ब ६५ करोड रुपैयाँ बरावरको डिवेञ्चर जारी गरिसकेको छ ।

बैंक नै समस्यामा पर्न सक्ने चर्चा बजारमा हल्ला चलिरहदा पहिलो त्रैमासमा नै अर्ब भन्दा धेरैको नाफा सहितको वित्तीय विवरणले बैंकिङ प्रणालीलाई नै काम गर्ने शैली परिवर्तन गर्न सुझाएको बुझिन्छ । आक्रामक रुपमा बैंकिङ सेवा विस्तार गर्दा जोखिम पनि उत्तिकै हुने भन्दौ भविष्यमा अफठ्यारोमा पर्न सक्ने विश्लेषण गरिएको एनआईसी एशिया बैंकले नेपालको बैंकिङ क्षेत्रको कार्यशैलीलाई परिवर्तन गराउन आवश्यक रहेको सेन्देश समेत दिएको छ ।

बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा एक अर्ब ९६ लाख रुपैयाँ खुद नाफा गरेकोे छ । बैंकको यो नाफा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ३४.१४ प्रतिशतले धेरै हो । गत बर्ष बैंकले ७५ करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आवको असोजसम्ममा बैंकमा १७८ अर्ब ९२ करोड रुपैयाँ ग्राहकको निक्षेप रहेको छ भने १५८ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । यो अवधीमा बैंकको सञ्चालन खर्च समान्य वढेको भएपनि आम्दानीमा उच्च सुधार भएको देखिन्छ । सो अवधीमा बैंकको खुद ब्याज आम्दानी करिब २ करोडले घटेको भएपनि फि तथा कमीसन आम्दानीमा आएको सुधारका कारण नाफा उच्च देखिएको हो ।

हाल ९ अर्ब ७१ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको सञ्चित कोषमा ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधीमा बैंकको सञ्चित कोषमा ४ अर्ब ९८ करोड रुपैयाँ मात्र थियो ।

चालु आर्थिक वर्षको असोजसम्ममा बैंकको आधार ब्याजदर घटेर ९.५१ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको असोजसम्ममा बैंकको आधार ब्याजदर १०.७७ प्रतिशत थियो । यो असोजसम्ममा बैंकको कोषको लागत पनि घटेर ६.९९ प्रतिशत कायम भएको छ । यस्तो लागत गत आवको सोही अवधीमा ७.१५ प्रतिशत थियो ।

तर, बैंकको चालु आवको पहिलो त्रैमासमा खराव कर्जाको अंश भने वढेको छ । यस अवधिमा बैंकको खराव कर्जा वढेर ०.४५ प्रतिशत छ । गत आवको असोजसम्ममा बैंकको खराब कर्जा वढेर ०.२६ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको असोजसम्मको तथ्याङक अनुसार बैंकको प्रतिसेयर आम्दनी ४०.७८ रुपैयाँ रहेको छ । गत आवको सोही अवधीमा बैंकको प्रतिसेयर आम्दानी ३६.७८ रुपैयाँ थियो । सो अवधीमा बैंकको मूल्य आम्दानी अनुपात ९.४७ गुणा रहेको छ ।