छपन्न हजार करदाता करको दायरामा

0
Shares

आन्तरिक राजश्व कार्यालय दमौलीमा ५६ हजारभन्दा बढी करदाता करको दायरामा आएका छन् । तनहुँ, लमजुङ, गोरखा र मनाङ कार्यक्षेत्र रहेको कार्यालयमा हालसम्म ५६ हजार ६०० करदाता करको दायरामा आएका हुन् ।

कार्यालय प्रमुख सूर्यप्रसाद सेढाइँका अनुसार व्यावसायिक लेखा नम्बरतर्फ ३१ हजार २८०, मूल्य अभिवृद्धि करतर्फ तीन हजार ३३६ र व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ १८ हजार ९२७ समेत गरी जम्मा ५६ हजार ६०० करदाता करको दायरामा आएका छन् । राजश्व असुलीको तथ्याङ्क र करदाताको दर्ता सङ्ख्या हेर्दा कार्यालयको कार्यक्षेत्र र जिम्मेवारी निरन्तररूपमा वृद्धि हुँदै गइरहेको कार्यालय प्रमुख सेढाइँले बताए ।

गत आर्थिक वर्ष २०७५/७६ सम्ममा व्यावसायिक लेखा नम्बर लिनेको सङ्ख्या २५ हजार ३४६ रहेको थियो भने मूल्य अभिवृद्धि करतर्फ दुई हजार ७०४, व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ सात हजार ३८ समेत गरी कूल ३७ हजार ३४४ करदाता रहेका थिए । सरकारले चालू आवदेखि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेपछि करको दायरामा आउनेको सङ्ख्या ह्वात्तै बढेको सेढाइँले जानकारी दिए ।

विसं २०६९ वैशाख ९ गते करदाता सेवा कार्यालयको रूपमा स्थापना भएको कार्यालय विसं २०७५ असार २० गते आन्तरिक राजश्व कार्यालयको रुपमा स्तरोन्नति भएको थियो । कार्यालय साविक डिभिजन सहकारी कार्यालयको भवनमा सञ्चालन हुँदै आएको छ । विसं २०७५ असोज ४ गते कार्यालयको उद्घाटन भएको थियो भने २०७५ मङ्सिर १ गतेदेखि कार्यालय पूर्णरूपमा सञ्चालनमा आएको थियो ।

दमौलीमा आन्तरिक राजश्व कार्यालय स्तरोन्नति भएपछि सेवाग्राहीलाई सहज भएको छ । यस अगाडि करसम्बन्धी सेवा लिन पोखरा जानुपर्ने अवस्था रहे पनि गत वर्षदेखि भने दमौलीमै सेवा पाउँदा सहज भएको गोरखाका करदाता दीपक विकले बताए ।

गत आव २०७५/७६ मा पाँच अर्ब १९ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको कार्यालयले पाँच अर्ब ३० करोड राजश्व सङ्कलन गरेको थियो । चालू आव २०७६/७७ मा रु आठ अर्ब ६१ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।