जनताको निक्षेपमा खेलबाड नगर्न बैंकहरुलाई सुझाउँदै राष्ट्र बैंकलाई समेत अर्थमन्त्रीले दिए यस्तो निर्देशन

0
Shares

अर्थमन्त्री डा युवराज खतिवडाले जनताको निक्षेपमा खेलबाड नगर्न बैंकहरुलाई निर्देशन दिएका छन् । नेपाल बैंकको ८३ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अथर्मन्त्री खतिवडाले बैंक व्यवस्थापन र कर्मचारीलाई इमान्दारीपूर्वक काम गर्न सचेत समेत गराए।

साथै उनले राष्ट्र बैंक लगायत नियामक निकायलाई पनि गम्भीर भएर काम गर्न ध्यानकर्षण गराए । उनले कर्मचारीको उत्पादकत्व वृद्धि, प्राविधिक जोखिम घटाउने तथा उच्च व्यावसायिक नैतिकता देखाउँदै अर्थतन्त्रको विस्तारमा योगदान गर्न नेपाल बैंकको व्यवस्थापनलाई आग्रह गरे ।

नेपाल बैंकलाई २१ औँ शताब्दीको वाणिज्य बैंकमा रुपान्तरण गर्न अनुशासित प्रतिस्पर्धी र उत्प्रेरणाका साथ काम गर्न सम्बद्ध सबै पक्ष प्रतिवद्ध हुनुपर्ने उनको भनाई थियो ।

खतिवडाले भने, “लामो समयसम्म ऋणात्मक पूँजी कोष र उच्च खराब कर्जा अनुपातका कारण सङ्कटग्रस्त अवस्थामा पुगेको नेपाल बैंक वित्तीय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनपछि अहिलेको अवस्थामा आइपुगेको हो, हाल सन्तोषजनक मुनाफा, धनात्मक पूँजीकोष, खराब कर्जाको अनुपातमा कमीले बैंकको गुमेको साख फर्किएको छ ।”

डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले संस्थागत सुशासनमा कडाइ गर्न, कर्जा प्रवाह वृद्धि गर्दै रोजगारीका अवसर सिर्जनामा ग्रामीण भेगका जनतालाई मद्दत गर्न नेपाल बैंक अग्रणी भूमिकामा रहनुपर्ने सुझाव दिँदै वित्तीय पहुँच नपुगेका स्थानमा सेवा पु¥याउन अनुरोध गरे ।

उनले निष्क्रिय कर्जाको अनुपात अझ घटाउने, निक्षेपको ब्याजदर बढाउने र कर्जाको ब्याज कमभन्दा कम गर्नेतर्फ बैंक लाग्नुपर्ने सुझाव दिँदै सीपयुक्त दक्ष जनशक्तिबाटै बैंकले वित्तीय प्रगतिमा फड्को मार्न सक्ने बताए ।