सिनर्जी पावरको विद्युत बिक्री बढ्दा नाफा बढ्यो, सरकारले दिएन १२ करोड

0
Shares

सिजर्नी पावर डेभलपमेन्ट कम्पनले चालु आवको पहिलो त्रैमासिक अवधिमा ४ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीको नाफा ६२ प्रतिशत भन्दा बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ५७ लाख ३१ हजार बढी हो। कम्पनीले खर्च नियन्त्रण गर्दै आम्दानी बढाउन सफल भएपछि नाफा बढेको हो ।

कम्पनीले यस अवधिमा विद्युत बिक्री गरी ८ करोड ७८ लाख ५४ हजार रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ करोड ५ लाख २९ हजार रुपैयाँ बढी हो। गत आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले विद्युत बिक्रीबाट ७ करोड ७३ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको थियो।

प्रसारण लाइन निर्माण समयमा नै सम्पन्न नभएका कारण वर्षयाममा कुल क्षमताको ४० प्रतिशतभन्दा बढी विद्युत खेर गइरहेको कम्पनीले जनाएको छ। सिँगाटी सब–स्टेशन तथा सिँगाटी–लामासाँघु १३२ केभि प्रसारण लाईन समयमै सम्पन्न नभएका कारण विगत ७ वर्षदेखि आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको कम्पनीले जनाएको छ। सो सब–स्टेशन र प्रसारण लाइन यस वर्ष सम्पन्न हुने कम्पनीले अपेक्षा गरेको छ।

साथै कम्पनीले असोज मसान्तसम्म सरकारबाट प्राप्त हुनुपर्ने ११ करोड ९२ लाख रुपैयाँ प्राप्त नहुँदा नगद प्रवाहमा समस्या आएको उल्लेख गरेको छ।

७० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने ६ करोड ७५ लाख ८५ हजार ऋणात्मक रहेको छ। कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ९६ पैसा हुन्छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ ३४ पैसा कायम भएको छ।